close

निषेधाज्ञालाई प्रभावकारी बनाउँदै तिलोत्तमा र बुटवल

निषेधाज्ञालाई प्रभावकारी बनाउँदै तिलोत्तमा र बुटवल

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरले कोरोना रोकथाम एवं नियन्त्रणका लागि १६ वैशाख देखि सुरु भएको निषेधाज्ञालाई व्यवस्थित एवं प्रभावकारी बनाउन निजी क्षेत्र र सामाजिक संघ-संस्थासँग समन्वय गर्ने भएको छ । 

 

जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट जारी भएको निषेधाज्ञामा अति आवश्यकीय सामग्रीको सहज आपूर्तिका लागि उपमहानगरमा रहेका निजी क्षेत्र र सामाजिक संघ-संस्थासँग सहकार्य गरिने भएको हो । 

 

अति आवश्यक खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दूधलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने गरी विभिन्न संघ-संस्थासँग सहकार्य गर्ने निर्णय भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

 

निषेधाज्ञा अवधिभर अति आवश्यक वस्तुको ढुवानी सहजताका लागि बुटवल उद्योग वाणिज्य र रूपन्देही व्यापार संघले समन्वय तथा सहजीकरण गर्ने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिए ।

 

जनस्वास्थ्यको संवेदनशीलता र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।

 

विवाहमा १५ जना मात्रै

 

उपमहानगरले विवाह, ब्रतवन्ध, पूजाआजा वा अन्य संस्कारका लागि बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पालना गर्ने गरी नजिकको प्रहरी इकाइसँग समन्वय गरी आफ्नै निवासमा सम्पन्न गर्न सकिने व्यवस्था मिलाएको छ ।

 

विवाहका लागि बढीमा २ वटा साना गाडी वा एउटा ठूलो गाडीमा जम्मा १५ जना संख्या नबढ्ने गरी शुभविवाहको ब्यानर राखेर विवाहका निम्ती आउजाउ गर्न दिइनेछ ।

 

उपमहानगरमा अत्यावश्यक मात्रै सेवा प्रवाह

 

स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत्, टेलिकम, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ ।

 

अत्यावश्यकबाहेकका अन्य दैनिक कार्यालयका काम तथा सेवा प्रवाह भने यो अवधिमा स्थगन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

 

अत्यावश्यक सेवाप्रदायक कार्यालयका कर्मचारी परिचयपत्रका आधारमा कार्यालय आउजाउ गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए ।

 

स्वास्थ्य मापदण्ड अपनाएर बैंक खुल्ने


बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यकता र मानवीयताका आधारमा अति संवेदनशील क्षेत्रमा सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी सेवा उपलब्ध गराउन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

 

बैंकहरूको सेवा प्रवाहलाई स्वास्थ्य सुरक्षाको पूर्ण ग्यारेन्टीसहितको व्यवस्था मिलाउने र त्यसको समेत बेलाबेला अनुगमन गरिनेछ ।

 

औद्योगिक प्रतिष्ठानलाई नयाँ मापदण्ड

 

औद्योगिक प्रतिष्ठान र विकास निर्माणमा हुन सक्ने सम्भावित संक्रमण नियन्त्रण गर्न सुरक्षा तथा स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाइएको छ ।

 

मापदण्डअनुसार श्रमिक र अन्य जनशक्ति अनिवार्य कार्यस्थलमै रहनुपर्नेछ । उनीहरूलाई खानाको व्यवस्था कार्यस्थलमै गर्नुपर्ने, बाहिर जान र बाहिर रहेका परिवारलगायत अन्य कुनै व्यक्तिसँग सम्पर्क गर्न यो अवधिमा पाइने छैन ।

 

कार्यस्थलमा पनि व्यक्ति-व्यक्तिबीचको भौतिक दूरी कायम राख्ने र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्नुपर्नेछ । 

 

सबै श्रमिकको दैनिक ज्वरो, स्वास्थ्य जाँच एवं मास्क, स्यानिटाइजर तथा साबुन-पानीको प्रयोग अनिवार्य र एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था गर्नुपर्नेछ । त्यसरी काम गर्ने कुनै कामदार संक्रमित भए स्वयं उद्योगले नै आइसोलेसनको व्यवस्था मिलाउनुपर्नेछ ।

 

थप स्वास्थ्य जटिलता भए सम्बन्धित स्वास्थ्य संस्थामा सूचना गर्नुपर्नेछ । उक्त कार्यको प्रभावकारी अनुगमन गरिनेछ ।

 

कालोबजारी गरे कारबाही


आदेशको उल्लंघन गर्ने, आदेशको पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधी-औषधीजन्य सामग्री अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेउपर कानुनबमोजिम कारबाही हुनेछ ।


निषेधाज्ञा अवधिभर औषधोपचार तथा अन्य अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन । जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न बन्देज लगाइएको छ ।

 

कुनै पनि भेला, भीडभाड गर्न, जात्रा सञ्चालन गर्न, महोत्सव, सभा-जुलुस गर्न निषेध गरिएको छ ।

 

रूपन्देहीबाट अन्यत्र जिल्लाका लागि छुट्ने सार्वजनिक तथा निजी सवारी साधन चल्न पाउने छैनन् । पूर्व-पश्चिम राजमार्गबाट वारपार गर्नेबाहेक जिल्लामा अन्तिम बिन्दु भई अन्य जिल्लाबाट आउन निषेध गरिएको छ ।
होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस सञ्चालनमा निषेध गरिएको छ । 

 

शान्ति-सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने साधनजस्ता अति आवश्यकबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन गर्न पाइने छैन ।

 

यसैगरी तिलोत्तमा नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जारी गरेको निषेधाज्ञालाई नगर क्षेत्रमा प्रभावकारी रूपमा लागू गराउन विभिन्न निर्णय गरेको छ ।

 

नगर कार्यपालिकाको आकस्मिक बैठकले नगर क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढेको निष्कर्ष निकाल्दै नियन्त्रणका लागि निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

 

जिल्ला प्रशासन कार्यालयले रुपन्देहीभर १६ देखि ३० वैशाखसम्म निषेधाज्ञा जारी गरेको छ । तिलोत्तमाको कार्यपालिका बैठकले निषेधाज्ञाको कार्यान्वयनसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना र स्वास्थ्यकर्मीको परिचालनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

 

बैठकले संक्रमितलाई अनिवार्य रुपमाहोम आइसोलेसन वा नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा बसाउन जनप्रतिनिधि, टोल विकास संस्थासँग समन्वय गर्ने, संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र आधारभूत औषधी उपलब्ध गराउन सिआईसिटी टिम परिचालन गर्ने निर्णय गरेको छ । 

 

यस्तै, बैठकले कोरोना फोकल पर्सनको रूपमा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईलाई तोकेको छ भने शंकरनगर आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मीको यथोचित व्यवस्थापन गर्ने, स्वास्थ्य संस्थालाई कोरोना नियन्त्रण अभियानमा प्रभावकारी रूपमा परिचालन गर्नेलगायतका निर्णय गरेको छ ।

 

बैठकले कोरोना नियन्त्रण अभियानको सन्दर्भमा नगरप्रमुख घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायत जनप्रतिनिधि रहेको निर्देशक समिति गठन गरेको छ । 

 

तिलोत्तमाले कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि शंकरनगरमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेको छ । बिरामीलाई अस्पताल वा आइसोलेसन सेन्टरसम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गरेको छ ।

 

संक्रमणको लक्षण देखिएका, जोखिममा रहेकालाई स्वास्थ्य संस्था र सिआइसिटी टिमको सिफारिसको आधारमा शंकरनगरमा एन्टिजन परीक्षणको व्यवस्था मिलाएको छ । 

 

रूपन्देहीका सैनामैना, देवदह नगरपालिका र अन्य गाउँपालिकाले पनि निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।