close

फेरि सुस्तायो बन्दीपुरको पर्यटन

फेरि सुस्तायो बन्दीपुरको पर्यटन

Trulli
ADVERTISEMENT

तनहुँ- नयाँ वर्षमा पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको ओइरो लाग्यो । यहाँ सञ्चालित साना-ठूला सबै होटल पाहुनाले भरिभराउ भए । कोरोनाले थलिएर धीमा गतिमा चलेको बन्दीपुरको पर्यटनले लय समात्ने होटल व्यवसायीमा आशा जगायो । तर, २ साता नबित्दै पर्यटकको संख्या ओरालो लागेको छ । 

 

कोरोना महामारी तीव्र गतिमा फैलिएपछि बन्दीपुर पुनः सुनसान हुन थालेको छ । पोखरा, काठमाडौंलगायतका ठूला सहरमा लगाइएको आंशिक र पूर्ण निषेधाज्ञाको प्रभावले पनि बन्दीपुर आउने पर्यटकको संख्यामा कमी आएको व्यवसायीहरू बताउँछन् ।

 

पछिल्लो साता बन्दीपुर घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घटेको होटल संघ बन्दीपुर इकाइका अध्यक्ष विपिन प्रधानले बताए । उनका अनुसार फाट्टफुट्ट पर्यटक घुम्न आएका छन् । होटलमा बास बस्ने गरी आउने कमै छन् ।


‘नयाँ वर्षमा सोचेभन्दा बढी पर्यटक आएका थिए । त्यतिबेलाको चहलपहल देख्दा सुस्ताएको पर्यटनले लय समात्छ भन्ने आश गरेका थियौँ’, उनले भने, ‘कोरोनाको संक्रमण फेरि देखिन थालेपछि पहिल्यै होटल बुकिङ गरेकाले पनि रद्ध गर्न थालेका छन् ।’ 

 

बन्दीपुरमा घुमघामका लागि मात्र नभएर तालिम, सेमिनार, गोष्ठी, विभिन्न कार्यक्रम गर्न देशभरबाटै नागरिक आउँछन् । सरकारले सार्वजनिक कार्यक्रम गर्र्न रोक लगाएपछि तालिम, गोष्ठीका लागि होटल बुक गरेकाले धमाधम रद्ध गरेको प्रधानले जानकारी दिए ।

 

कोरोना संक्रमण फैलनुपूर्व नैै बन्दीपुर आएका विदेशी पर्यटक भने यहाँका होटलमा बसेका छन् । बन्दीपुरका होटल सञ्चालक तथा पर्यटन व्यवसायीले भ्रमण वर्ष २०२० लक्षित गर्दै लगानी बढाएका थिए । भ्रमण वर्ष सुरु भएको ३ महिनामै कोरोना संक्रमण फैलिएर लकडाउन भयो । ११ चैत २०७६ चैत ११ देखि सुरु भएको लकडाउनमा होटल तथा पर्यटन व्यवसायी नराम्ररी थला परे ।

 

असोजबाट पर्यटन व्यवसाय खुल्न थाल्यो । उत्साहजनक रूपमा पाहुना नआए पनि विस्तारै पाहुना बढ्दो क्रममा थिए । यसपालि नयाँ वर्षका बेला बन्दीपुरमा स्ट्रिट फुड फेस्टिबल गरिएको थियो । त्यतिबेला आएका पर्यटकको भीडले बन्दीपुरे पर्यटन व्यवसायीमा उत्साह जगाए पनि पुनः थलाउने लक्षण देखिएको पर्यटन व्यवसायीको गुनासो छ ।

 

पर्यटकको संख्या घटेर सुनसान हुन थालेपछि बैंकको किस्ता कसरी तिर्ने चिन्ता थपिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । व्यवसाय नचल्दा बैंकको किस्ता तिर्न समस्या हुने उनको भनाइ छ ।

 

‘बैंकले लिएको ऋण छाड्दैनन् । दिन पुगेपछि तिर्नैपर्छ’, उनले भने, ‘व्यवसाय नचलेपछि कसरी तिर्ने चिन्ता थपिएको छ ।’ व्यवसायी मिलेर स्थानीय सरकारलाई गुहार्ने योजना बनाएको उनले जानकारी दिए ।  गत वर्ष झन्डै ६ महिनासम्म बन्द हुँदा थला परेको पर्यटन व्यवसायलाई तंग्रिन राज्यले नसघाएको उनको गुनासो छ ।

 

झक्तपुरे शैलीमा बनेका गुजुमुजु पुराना घर, सपाट देखिने हिमशृखंलाको लर्कन, सूर्योदय र सूर्यास्तको दृश्य, दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा बन्दीपुरमा पर्यटक लोभ्याउने आधार हुन् ।

 

पछिल्लो समय बन्दीपुर गाउँपालिकाले पनि २० वर्षे गुरुयोजना बनाएर गन्तव्य थपिरहेको छ । साइकल लेन, मिनी ग्रेटवाल बन्दीपुर गाउँपालिकाले थपेको गन्तव्य हो । सिसाको पुल बनाउने योेजनामा गाउँपालिका छ ।  गाउँपालिकासँगको सहकार्यमा बन्दीपुरमा निजी कम्पनीले केबलकार निर्माण गरिरहेको छ ।