close

कपुरकोटमा स्वास्थ्य सुरक्षा सामग्री अभाव

कपुरकोटमा स्वास्थ्य सुरक्षा सामग्री अभाव

Trulli
ADVERTISEMENT

सल्यान- सल्यानको कपुरकोट गाउँपालिकामा कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि छलफल भएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका प्रमुखहरूसँग छलफल गरेका हुन् ।


बुधबार बसेको कार्यपालिका बैठकले स्वास्थ्यकर्मीसँग छलफल गरी स्वास्थ्य सावधानी अपनाउन नागरिक स्तरमा जाने निर्णय गरेको छ । छलफलमा स्वास्थ्यकर्मीहरूले गाउँ-गाउँमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या भएका तथा कोभिडसँग मिल्दाजुल्दा चिह्न र लक्षण भएका बिरामीहरू बढिरहेको जानकारी दिए ।

 

स्वास्थ्य संस्थाहरूमा मास्क, स्यानिटाइजर, ग्लोभ्सलगायतका स्वास्थ्य सामग्री अभाव रहेको उनीहरूको भनाइ थियो । बैठकले आवश्यक स्वास्थ्य सामग्री तथा औषधी खरिद गर्न, परीक्षणको दायरा बढाउन, बाहिरबाट आउनेलाई राख्न होल्डिङ सेन्टर तथा संक्रमितलाई राख्न आइसोलेसन स्थापनाका लागि गाउँ कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । 


नेपालभित्रका सहरबजार र भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानबाट आउने व्यक्ति, कोभिडका लक्षण देखिएका बिरामीको विवरण संकलन गरी दैनिक अद्यावधिक गर्ने निर्णय पनि भएको स्वास्थ्य शाखाका सिनियर अहेब सुवासण् हमालले जानकारी दिए ।

 

पालिकाभित्र कतिपयमा कोरोना भाइरसकोे संक्रमण देखिएको र कोभिडसँग मिल्ने लक्षण देखिएका बिरामी बढ्दै गएकाले बुधबारदेखि पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न थालिएको छ । 

 

वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह


कपुरकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थालाई वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न र वार्षिक परीक्षा अर्काे सूचना नआउन्जेल स्थगित गर्न भनेको हो ।

 

गाउँपालिकामै कोरोना फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर केही समयका लागि विद्यालय बन्द गर्नुपरेको पालिकाले बताएको छ ।