close

आन्तरिक पर्यटन गन्तव्य बन्दै तिनाउको मरामकोटडाँडा

आन्तरिक पर्यटन गन्तव्य बन्दै तिनाउको मरामकोटडाँडा

Trulli
ADVERTISEMENT

पाल्पा- कोरोना संक्रमणको पहिलो चरणमै थला परेको पाल्पाको पर्यटन व्यवसाय पुनः दोस्रो लहर सुरु भएपछि थलिन थालेको छ । कोरोना कहरकै बीच पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको विकास गरिएको थियो ।

 

तिनाउ गाउँपालिका वडा नम्बर ५ मरामकोटडाँडा आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । एकै स्थानबाट तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने यहाँ दैनिक पयर्टक पुग्ने गरेका छन् ।

 

पहाडको शिरबाट माछापुच्छ्रे , धौलागिरि, अन्नपूर्णलगायत हिमशृंखला देख्न सकिन्छ । यहाँबाट भारतका विभिन्न भागसमेत चियाउन सकिन्छ ।

 

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल जोरधारा, ढुम्रेबाट करिब ५० मिनेटको पैदल यात्रामा यहाँ पुगिन्छ । करिब ७ किलोमिटर सवारीको यात्राबाट पनि पुग्न सकिन्छ । 

 

प्राकृतिक सौन्दर्यले भरिएको यहाँको पर्यटन उकास्न मराकोट पर्यटन विकास समिति गठन गरिएको छ । साहसिक गन्तव्य मन पराउनेका लागि यहाँ प्रशस्त सम्भावना छन् ।

 

तिनाउ गाउँपालिकाले सडकको स्तरोन्नति, होमस्टे व्यवस्थापन, डाँडामा रेलिङ निर्माण गरेर पर्यटकलाई घुम्ने र रमाउने स्थल निर्माण गरेको मराकोट पर्यटन विकास समितिका अध्यक्ष दुर्गा दर्लामी बताए । 

 

मगर जातिको बसोबास रहेको यो क्षेत्रमा मगर संस्कृति, रहनसहन र परम्परासँग रमाउन पाइन्छ । स्थानीयको प्रयास र गाउँपालिको सहयोगमा मरामकोट पर्यटक स्थलको विकास भएपछि अन्तरिक पर्यटक बढ्न थालेका हुन् ।

 

होमस्टेमा मगरी स्थानीय खानाको परिकारसँगै लोपोन्मुख कौरा, मारुनी, सोरठीलगायत नृत्य हेर्न पाइन्छ । पालिकाले एक वडा एक पर्यटकीय गन्तव्य बनाउने योजनासहित मरामकोटको विकासमा विशेष योजना अगाडि बढाएको हो ।

 

मरामकोट पुग्न केही अप्ठ्यो भए पनि त्यहाँ गएपछि निकै रमाइलो अनुभव हुने पर्यटक बताउँछन् । आकर्षक पर्यटकीय स्थल बन्नेकाले यहाँ घुम्न आएको आन्तरिक पर्यटक सुमन थापाले बताए ।


विदेशीलाई भन्दा दिगो पर्यटनका लागि आन्तरिक पर्यटनलाई नै प्राथमिकतामा राखेर पर्यटकीय गतिविधि गर्नु आवश्यक देखिन्छ । पर्यटकीय सम्भावना खोजी गर्दै स्थानीय समुदायलाई जोड्न सके रोजगारी सिर्जना र आयआर्जनको गतिलो माध्यम पर्यटन व्यवसाय बन्ने थापा सुनाउँछन् ।