close

‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

ADVERTISEMENT

काठमाडौं- पछिल्लो समय युट्युब, टिकटकदेखि सामाजिक सञ्जालमा रुचाइएको देउडा शैलीको गीत ‘पियारी’ फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्युब च्यानलबाट बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो । 

 

नवगायिका विशाखा शाही ठकुरीको गायकीको गीत हृदयस्पर्शी बनेको छ । जोसेफ शाही ठकुरीको स्वरमा रहेको ओरिजिनल गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’ लाई परदेशमा दुःख गरिरहेको श्रीमान्ले सम्झाइरहेको भाव भेटिन्छ । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफू कस्तो अवस्थामा जीवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव पस्किएको छ । 

 

गीतमा जोसेफ शाहीको शब्द, कोसिस क्षेत्रीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् । फिमेल भर्सनमा स्वर मात्रै होइन, गायिका विशाखाको अभिनयसमेत हेर्न सकिन्छ । 


भिडियोमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेञ्चुरीको समेत अभिनय रहेको छ । राज पोखरेलको छायाकन रहेको भिडियोको सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन् । 

 

रियालिटी गायन स्पर्धा ‘भ्वाइस अफ नेपाल सिजन ३’ मा बाजुराका प्रतिभा धर्मेन्द्र सुनारले ‘पियारी’ गीत गाएर ४ वटै निर्णायकको मन जित्न सफल भएपछि गीत सर्वत्र रुचाइएको थियो । 

 

त्यसपछि ओरिजिनल गीतलाई पनि उत्तिकै रुचाइएको छ । हालसम्म युट्युबमा १८ लाख बढी दर्शकले गीतको भिडियो हेरिसकेका छन् । पियारीको फिमेल भर्सनलाई लिएर पनि युट्युबमा उत्साहजनक टिप्पणी आएका छन् । सार्वजनिक भएको १५ घन्टामै गीतको भिडियो २७ हजार बढी दर्शकले हेरिसकेका छन् ।