close

रूपन्देहीमा निषेधाज्ञा: उल्लंघन गरेका ३ जनालाई १ महिने जेल 

रूपन्देहीमा निषेधाज्ञा: उल्लंघन गरेका ३ जनालाई १ महिने जेल 

Trulli
ADVERTISEMENT

रूपन्देही- निषेधाज्ञाको पहिलो दिन रूपन्देही प्रहरीले ३ जनालाई १ महिने कारागार चलान गरेको छ । उनीहरूमाथि निषेधाज्ञा उल्लंघन गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो ।  नियन्त्रणमा लिएकामध्ये प्रतिव्यक्ति ९१०० रुपैयाँ जरिमाना तिर्न नसकेका ३ जना कारागार चलान भएका हुन् ।

 

कारागार चलान भएकामा मायादेवी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का २८ वर्षीय श्याम दुवे र मायादेवी वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहार रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

 

‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र १ महिलामध्ये ५ जना पुरुषले भने ९१०० र एक महिलाले ६ सय रुपैयाँ जरिमाना तिरेर छुटे । जरिमाना तिर्न नसक्ने ३ जना १ महिना थुनामा गए,’ उनले भने ।

 

प्रहरीले निषेधाज्ञा अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारीसाधन होल्डमा राखेर छाडेको छ । यीमध्ये ५० वटा सार्वजनिक सवारीसाधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना पैदल यात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले जानकारी दिए ।