close

जुम्लाको गुठीचौरमा जुस उद्योग शिलान्यास

जुम्लाको गुठीचौरमा जुस उद्योग शिलान्यास

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकामा जुस उद्योगको शिलान्यास गरिएको छ । जुम्लामा पाइने स्याउ, आरु, नासपातीलगायत फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ दुर्गम गुठीचौर गाउँपालिका वडा नम्बर ३ स्थित निधारडाँडामा जुस उद्योग भवन शिलान्यास गरिएको हो ।

 

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जुस उद्योगको शिलान्यास गरे । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

 

असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योग निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माणमा सहभागी भएर रोजीरोटीसमेत जुटाउने उनले जानकारी दिए । निर्माण अवधिभर कामदारलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न लगाइनेछ ।

 

करिब १५ लाख रुपैयाँ लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुनेछ । बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने अध्यक्ष भण्डारीले उल्लेख गरे ।

 

अध्यक्ष भण्डारीले उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्ने प्रतिबद्धता जनाए । गाउँमै सडक पुगिसकेको र नेपालका विभिन्न बजारमा मागअनुसार विक्री गर्न आवश्यकताअनुसार पालिकाले समन्वय गर्नेछ ।

 

कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडलअन्तर्गत जुस उद्योग भवन निर्माण हुने जानकारी दिए । बाहिरी बजारमा जुम्ली अर्गानिक फलफूलको जुस माग बढिरहेकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने कृषि विज्ञहरूको भनाइ छ । जुस उद्योग निर्माणपछि गाउँमै उत्पादित स्याउ, आरु खरिद गरी किसानलाई हातहातमै पैसा दिइनेछ ।


कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालू आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ लगानीमा गुठीचौरमा जुस उद्योग भवन बन्न लागेको हो । यसअघि जुम्ला सदरमुकाम आरके डिस्टिलरी तथा फलफूल जुस उद्योग सञ्चालनमा छ ।