close

भीमादमा १ लाख ४७ हजार पशुपक्षी रहेको विवरण सार्वजनिक

भीमादमा १ लाख ४७ हजार पशुपक्षी रहेको विवरण सार्वजनिक

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको भीमाद नगरपालिकाभित्र पशुपक्षीको तथ्यांक संकलन गरिएको छ । पशुपक्षीको अवस्था पत्ता लगाउन नगरपालिकाको पशु सेवा शाखाले संकलन गरेको तथ्यांक सार्वजनिक गरिएको हो 

 

नगरपालिकाभर १ लाख ४७ हजार ६ सय ३३ पशुपक्षी रहेको पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । उनका अनुसार पशुको संख्या ४९ हजार ५ सय ३९ छ । यीमध्ये गाई-गोरुको संख्या ६ हजार ९ सय ६७, भैँसी ६ हजार ९ सय ८, बाख्रा ३० हजार ८ सय ९१, सुँगुरबंगुर ४ हजार ३ सय ७२, खरायो ४ सय १ र भेडा ३८ वटा छन् । 

 

पौडेलका अनुसार नगरभरका कृषकले ९८ हजार ९४ पक्षी पालेका छन् । सबैभन्दा धेरै कृषकले कुुखुरा पालेको उनले बताए । ९७ हजार ३ सय ९७ कुखुरा पालेको तथ्यांकमा उल्लेख छ । हाँस २ सय ९, बट्टाई ४ सय ३० र टर्कीको संख्या ५८ रहेको छ । 

 

नगरपालिकामा ५ हजार ६ सय ५८ घरधुरी पशुपक्षीपालनमा आबद्ध रहेको पशु शाखा प्रमुख पौडेल बताउँछन् ।  उनले भने, ‘तीमध्ये १ सय ३९ घरधुरीले व्यावसायिक रूपमा फर्म दर्ता गरी सञ्चालनमा ल्याएका छन् ।’

 

बाख्रा फार्म भीमादमा धेरै पाइएको छ । बाख्रापालनमा नमुना बन्दै गइरहेको भीमादमा ६४ वटा बाख्रा फार्म सञ्चालनमा छन् । भीमादको वडा नम्बर ९ पाथर्दी बोर बाख्राको स्रोत केन्द्र हो ।

 

गाईभैँसी फार्म ११, सुंगुर-बंगुर फार्म २०, कुखुरा र माछा फार्म २२/२२ वटा छन् । भीमादमा व्यवसायिक माछा पोखरीबाट वार्षिक ५२ हजार ५०० केजी माछा उत्पादन हुन्छ भने प्राकृतिक खोलानालामा २ हजार ८ सय ७३ केजी माछा उत्पादन हुने तथ्यांकमा उल्लेख छ ।

 

यहाँ वार्षिक ८ लाख ६६ हजार ८ सय ३६ केजी मासु उत्पादन हुन्छ । यस्तै, १७ लाख ४८ हजार ५ सय ५० गोेटा अन्डा, २३ लाख ५८ हजार ४ सय लिटर दूध वार्षिक उत्पादन हुने तथ्यांकले देखाउँछ । 

 

तथ्यांक संकलन गर्दा भीमादमा पशुपंक्षीको अवस्था पत्ता लागेको नगरप्रमुख मेखबहादुर थापाले बताए । ‘यसैलाई आधार बनाएर आगामी वर्ष कार्यक्रम सञ्चालन हुनेछ’, उनले भने, ‘पशुपक्षीको पकेट र जोन पनि स्थापना गर्नेछौँ ।’

 

भीमादले पर्यटन र कृषिमा यान्त्रिकीकरण गर्दै आर्थिक समृद्धिको पूर्वाधार निर्माणलाई जोड दिएको उनले बताए । खाद्य सुरक्षाको अवस्था पत्ता लगाउँदै पशुपक्षी स्वास्थ्यका लागि आवश्यक औषधी र सामग्रीको परिणाम निर्धारण गर्न तथ्यांकले सघाउने उनको विश्वास छ ।