close

जुम्लामा कोरोना रोकथाम फितलो: संक्रमित १८ पुगे

कार्णालीमा एकै दिन ८ जना संक्रमितको मृत्य

जुम्लामा कोरोना रोकथाम फितलो: संक्रमित १८ पुगे

कार्णालीमा एकै दिन ८ जना संक्रमितको मृत्य

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा शुक्रबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १६ जनाको पिसिआर परीक्षण गर्दा १६ मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त अस्पताल निर्देशक राजीव शाहका अनुसार संक्रमित हुनेमा चन्दननाथ नगरपालिका वडा नम्बर ६ का २ जना, वडा नम्बर ३ का १ जना र गुठीचौर गाउँपालिका वडा नम्बर ३ र ५ का १/१ गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार थपिएका ५ जनासहित जुम्लामा पछिल्लो चरणका संक्रमितको संख्या १८ पुगेको छ । यसअघि कोरोना संक्रमितको संख्या १३ थियो ।

 

जुम्लाका ८ वटा स्थानीय तहमध्ये दोस्रो चरणको संक्रमणबाट चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिका बढी प्रभावित भएका छन् । प्रशासन तथा स्थानीय तहले रोकथाम तथा नियन्त्रण गर्न नसक्दा गाउँ-गाउँमा कोरोना फैलिन सक्ने नागरिक अगुवा राजबहादुर महतले बताए ।

 

दैनिक संक्रमण बढ्दै गएको अवस्थामा सीधै नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट हवाई तथा स्थलमार्ग भएर आउने नागरिकको चेकजाँच गर्ने व्यवस्था नमिलाउनु खतराको संकेत भएकोसमेत महतको बुझाइ छ ।

 

‘विगतमा जस्तो जुम्लामा यो वर्ष कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासन, स्थानीय सरकार, स्वास्थ्यसँग सम्बन्धित निकायले उति चासो राखेको पाइँदैन । सोही कारण संक्रमणले भयावह रूप लिने निश्चित छ’, उनले भने ।


कार्णालीमा एकै दिन ८ जना संक्रमितको मृत्य
 
कर्णाली प्रदेशमा दोस्रो लहरको कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा कर्णालीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका वडा नम्बर ५ सुर्खेतका ६३ वर्षीय पुरुष, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ सुर्खेतका ४५ वर्षीय पुरुष, वीरेन्द्रनगर वडा नम्बर ८ का ६३ वर्षीय पुरुष, वडा नम्बर ११ का ५३ वर्षीय पुरुष र वडा नम्बर १२ का ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

 

त्यस्तै, सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ सल्यानका ४२ वर्षीय पुरुष, मुसीकोट नगरपालिका वडा नम्बर ४ रुकुम पश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका वडा नम्बर ६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा. खड्काले बताए । 

 

‘मृत्यु भएका सुर्खेतका ३ जना व्यक्तिमा पिसिआर र बाँकी अन्य जिल्लाका ५ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ’, उनले भने । निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पतालमा ४, सल्यान जिल्ला अस्पताल, रुकुम पश्चिम र दैलख जिल्ला अस्पतालमा १/१ जनाको मृत्यु भएको छ । 

 

कर्णालीमा एकै दिन ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भने यो पहिलो पटक हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

 

शुक्रबार ८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा आरटी पिसिआर परीक्षण गर्दा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी जम्मा २५३ जना नयाँ संक्रमित थपिएका छन् ।

 

योसँगै कर्णालीमा आरटी पिसिआर परीक्षणबाट कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।