close

संक्रमण नियन्त्रण गर्न के गर्दैछन् कैलालीका स्थानीय तह

संक्रमण नियन्त्रण गर्न के गर्दैछन् कैलालीका स्थानीय तह

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीमा पछिल्लो समय कोरोना संक्रमणको दर दिनप्रतिदिन तीव्र हुँदै गएको छ ।  जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रूपमा अगाडि बढाएका छन् ।

 

पहिलो चरणको संक्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रित स्थानीयत तहले  अन्य कामलाई थाती राखेर कोरोना संक्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई  अहिले धमाधम अगाडि बढाउन थालेका हुन् ।

 

संक्रमणको दर बढे पनि सुरुआती अवस्थामा यसतर्फ केन्द्रित  हुन नसकेका स्थानीय तहले स्थिति नियन्त्रणभन्दा बाहिर जान लागेको जनाउँदै तयारी सुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह विकले जानकारी दिए ।

 

उनले नगरपालिकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको जनाउँदै आकस्मिक रूपमा ५ शय्याको अक्सिजन जडित आइसोलेसन तयार भएको र  १५ शय्याको आइसोलेसन वार्डका लागि महुन्याल बहुमुखी क्याम्पसमा काम भइरहेको बताए ।

 

‘हामी नगरबासीको स्वास्थ्यमा धेरै संवेदनशील छाैँ । आवश्यक साधन-स्रोतको व्यवस्थापनको कामलाई समेत अगाडि बढाइसकेका  छाैँ’, उनले भने, ‘अक्सिजन सिलिन्डरको आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ । क्वारेन्टाइन निर्माण गरेका छौँ ।’ 

 

भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले ८ वडा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ भने ८ सिलिन्डर भर्न पठाइएको उनले जानकारी दिए । नगरपालिकामा कार्यपालिकाको बैठक बस्न नसक्दा कोरोना  नियन्त्रण तथा व्यबस्थापनका लागि बजेट विनियोजन हुन सकेको छैन ।

 

टीकापुर नगरपालिकाले कोरोना  व्यवस्थापनका लागि सर्वदलीय छलफलमार्फत आवश्यक जनशक्ति र पूर्वाधारको कामलाई अगाडि बढाएको छ । नगरपालिकाले टीकापुर अस्पतालमा १५ शय्याको अक्सिजन जडित आइसोलेसनलाई सञ्चालनमा ल्याएको छ भने सिटी हलमा ३८ शय्याको व्यवस्थित आसोलेसन वार्डको रूपमा विस्तारको काम अगाडि बढाएको छ ।

 

नगरपालिकामा रहेका सार्वजनिक भवन योगाश्रम, सन्तनिरंकारी भवन, जेसिज भवनलाई तयारी अवस्थामा राखेको  नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।  


‘पहिलो चरणमा २० सिलिन्डर अक्सिजन आपूर्ति गरी टीकापुर अस्पताललाई हस्तान्तरण गरिसकेका छौँ । थप सिलिन्डर माग गरिसकेका छौँ’, उनले भने, ‘थप जनशक्ति व्यवस्थापन र  आवश्यकताको आधारमा पूर्वतयारीको काममा नगरपालिका जुटेको छ ।’

 

नगरपालिकाले ५० लाख रुपैयाँको कोरोना लक्षित कोषसमेत बनाएको छ । नगरप्रमुख रावलका अनुसार पुँजीगत आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्न नसकिनेलाई कटौती गरी उक्त बजेट कोरोना कोषमा जम्मा गर्ने भएको छ ।

 

अहिले नगरपालिकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि स्थिति झन् जटिल बन्न सक्ने भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन चिकित्सकले आग्रह गर्दै आएका छन् । नगरपालिकामा केही दिनयता दैनिक कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ  ।

 

जानकी गाउँपालिकाले पनि कोरोनाको उपचार तथा अन्य वयवस्थापनलाई अगाडि बढाएको छ । गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको ३० शय्याका आइसोलेसन वार्डलाई अक्सिजन जडित बनाउन लागेको गाउँपालिका अध्यक्ष प्रदीपकुमार  चौधरीले जानकारी दिए ।

 

‘अक्सिजन खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छाैँ । छोटो अवधिमा स्थिति काम गर्नुपर्दा समस्या भने धेरै देखिएको छ’, उनले भने, ‘लक्षणसहितका बिरामीलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा राख्छौँ । जटिल खाले बिरामीलाई टीकापुर अस्पतालमा उपचारका लागि समन्वय भएको छ ।’

 

उनले  कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट छुट्याइएको जनाउँदै आवश्यक जनशक्ति थप्न गाउँपालिकामा छलफल भइरहेको बताए ।

 

लम्कीचुहा नगरपालिकाले पनि तयारीको कामलाई तीव्र रूपमा अगाडि बढाएको छ । नगरपालिकाले ५० शय्याको आइसोलेसन वार्ड तयार गर्नुका साथै चिकित्सकलाई समेत जिम्मेवार बाँडफाँट गरी काम भइरहेको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए  ।

 

उनले नगरपालिकाले गर्नुपर्ने काम अगाडि बढाए पनि आइसियु नहुँदा समस्या भएको बताए । ‘हामीसँग आइसियुसहितको अस्पताल छैन । जटिल समस्या देखिएका बिरामीलाई धनगढी, नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘अन्य कुरामा नगरपालिकाले सबै तयारी गरिसकेको छ । साधन-स्रोतले भ्याउन सकिने सबै तयारी हामीले गरिसकेका छौँ । नागरिकप्रति गम्भीर छौँ ।’

 

जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएका छन् । कोरोना संक्रमण  नियन्त्रणका लागि प्रदेश सरकारको समन्वय फितलो रहेको स्थानीय तहका प्रमुखहरूको गुनासो छ । संघीय सरकारले नीति-निर्देशन दिने गरे पनि प्रदेश सरकारको काम र समन्वयमा ढिलाइ भएको बताइएको छ ।