close

चालू आर्थिक वर्षभित्रै उदयपुरगढीका सबै वडा झिलीमिली हुँदै

चालू आर्थिक वर्षभित्रै उदयपुरगढीका सबै वडा झिलीमिली हुँदै

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिकाले ५ वटा क्षेत्रमध्ये विद्युतीकरणलाई प्राथमिकीकरण गरेर विस्तार सुरु भएको छ ।

 

उदयपुरगढी गाउँपालिकाले पहिलो प्राथमिकीकरणमा सडक, दोस्रोमा विद्युतीकरण, तेस्रोमा खानेपानी, चौथोमा भौतिक पूर्वाधार भवन र पाँचौँमा कृषि तथा पशुपालनलाई लिएको छ । 

 

पहिलो प्राथमिकीकरणमा परेको सडक गाउँपालिकाको सबै वडा केन्द्रसम्म पुर्‍याउने काम सकेको छ । सडकमा लक्ष्यअनुरूपको काम भएको गाउँपालिकाले जनाएको छ ।

 

त्यसैगरी दोस्रो प्राथमिकीकरणमा परेको विद्युतीकरण चालू आर्थिक वर्षभित्रै उदयपुरगढीका सबै वडामा बिजुली पु¥याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ।

 

‘वडाबासीले आउँदो असारभित्र बिजुली बत्ती बाल्न पाउनेछन् । गाउँपालिकामा सामुदायिक विद्युतीकरण विभागको उदयपुरगढी ग्रामीण सामुदायिक विद्युतीकरण आयोजनामार्फत गाउँबासीलाई विद्युत् सेवाको पहुँचमा लग्दै छौँ’, अध्यक्ष मगरले भने ।

 

योजना सम्पन्न भएपछि गाउँपालिकाका ८ वटा वडाका ६५०० घरधुरी परिवार लाभान्वित हुनेछन् । यसअन्तर्गत १६ हजार ४ सय ७ महिलासहित ३२ हजार २ सय ५० जनसंख्याले विद्युत् उपभोग गर्न पाउने गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए ।

 

स्थानीय तहको निर्वाचनका बेला नै उदयपुरगढी गाउँपालिकाको प्रमुख नारा सडक र विद्युतीकरण थियो । निर्वाचनको बेला लगाएको नारालाई पूरा गर्ने क्रममा रहेको गाउँपालिका अध्यक्ष मगरको भनाइ छ । 

 

अध्यक्ष मगरले वडागत जनसंख्याअनुसार वडा नम्बर १ का ८४३ घरधुरीका २ हजार ५ सय ५५ जना छन् भने वडा नम्बर २ का ६१३ घरधुरीका ३ हजार १ सय ९ जनसंख्या रहेको छ ।

 

त्यस्तै, वडा नम्बर ३ का ५५७ घरधुरीका ३ हजार १ सय ७१, वडा नम्बर ४ का ४०० घरधुरीका २० हजार ८ जनसंख्याले विद्युत् उपभोग गर्न पाउनेछन् भने वडा नम्बर ५ का ९२५ घरधुरीका ४ हजार ७ सय ६१ जनसंख्याले बिजुली बाल्न पाउनेछन् । 

 

वडा नम्बर ६ का १०२४ घरधुरीका ७ हजार १ सय ३६ जना, ७ का १ हजार २ सय ८६ घरधुरीका ४ हजार ७ सय १४ तथा ८ नम्बर वडाका ९२६ घरधुरीका ४ हजार ७ सय १४ जनसंख्या विद्युत्बाट लाभान्वित हुनेछन् ।

 

गाउँपालिकाभरि करिब २७ हजारले विद्युत् सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए । विद्युत बाल्न पहिलो चरणमा १ हजार ९ थान मिटरबक्स उपभोक्तालाई वितरण गरिसकिएको छ ।

 

अपुग मिटरबक्स वितरण गर्न थप ४ हजार थान खरिद प्रक्रियास्वरूप नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गाईघाटलाई भुक्तानीको अन्तिम चरणमा पुगेको सुवेदीले जानकारी दिए । 

 

प्रतिमिटर १ हजार ७ सय १२ रुपैयाँ पर्ने मिटरबक्सको मूल्यमा १३ प्रतिशत भ्याटबापत २ सय २२ रुपैयाँ ५६ पैसा थप्दा १ हजार ९ सय ५६ रुपैयाँ हुने सुवेदीले बताए । गत १५ असोजमा १ हजार ९ सय मिटरबक्सको मूल्य ३७ लाख १६ हजार ४ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गरिसकिएको उनको भनाइ छ ।

 

अपुग उपभोक्ताका लागि गाउँपालिका थप ४ हजार थान मिटरबक्स खरिद गर्ने तयारी छ । त्यसका लागि गाउँपालिकाले ७८ लाख २४ हजार रुपैयाँ बुझाउने अन्तिम तयारी भइरहेको अधिकृत सुवेदीले बताए । 

 

गाउँपालिकाले विद्युतीकरणका लागि पहिलो चरणमा ३३ करोड र दोस्रो चरणमा २१ करोड गरी ५४ करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ ।

 

प्रारम्भिक चरणमा ६५ करोड रुपैयाँको लागत स्टिमेट गरिएको आयोजनाका लागि स्थानीय जनसहभागिताबापत नगदै १० प्रतिशत जुटाएको र बाँकी ९० प्रतिशत सरकार, सामुदायिक विद्युतीकरण विभागले उपलब्ध गराएको छ । 

 

समुदायले बेहोर्नुपर्ने १० प्रतिशतबापतको ५ करोड ४० लाख रकम जुटाउन स्थानीयबाट संकलित ३ करोड २० लाख र गाउँपालिकाबाट २ करोड २४ लाख रुपैयाँ खर्च गरिएको छ । यसका लागि प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत केही रकम छुट्याइए पनि कानुनी अड्चनले खर्च गर्न नमिलेको सुवेदीले बताए ।

 

गाउँबासीको घरघरमा बिजुली बाल्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेटमा साझेदारी गर्न जनप्रतिनिधि तयार भएकाले यति छिट्टै बिजुली बाल्ने अवस्थामा पुगेको उदयपुरगढी विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष देव गिरीले सुनाए ।

 

३ वर्षे अवधिमा पालिकाको सबै वडामा सडक र विद्युतीकरण पुगेको छ । विद्युतीकरणको पहिलो चरणमा कस्मिक रेणु जेभी काठमाडांैले काम गरेको थियो भने दोस्रो चरणमा वाइबा इन्क्राफ्ट प्रालि स्वयम्भू काठमाडौंले काम गरिरहेको छ ।

 

पहिलो चरणको ठेक्का सम्झौता गत असोजमा सकिएको र दोस्रो चरणको सम्झौता जेठ मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता भएको छ । करिब अन्तिम चरणमा पुगेकाले आगामी असारभित्रै सबै वडामा बिजुली बत्ती बाल्ने योजनामा रहेको उदयपुगढी ग्रामीण विद्युतीकरण उपभोक्ता समिति अध्यक्ष गिरीले जानकारी दिए । 

 

पहिलो चरणमा काम सकिएका उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, ७, १, ५ का २ हजार घरधुरीमा बिजुली बाल्ने काम भएको छ भने २ हजार घरधुरीमा बाल्ने तयारीम छ । अन्य वडामा काम सम्पन्न भए पनि मिटरबक्सको समस्याले गर्दा ढिलो भएको र विद्युत प्राधिकरण गाईघाट शाखाले केही दिनमै ४ हजार मिटर उपलब्ध गराउने जानकारी दिएकाले क्रमशः विद्युतीकरण हुँदै जाने अध्यक्ष गिरीले बताए ।

 

आयोजना सामुदायिक बाल विकास एवं महिला जागरण केन्द्र कटारी उदयपुरको प्राविधिक साझेदारीमा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

 

गाउँपालिकाले तय गरेको प्राथमिकताअनुरूप सडक, विद्युतीकरण, खानेपानी, भौतिक पूर्वाधार र कृषि, पशुपक्षीमा लक्ष्यअनुरूप काम भएको उदयपुरगढी गाउँपालिकाका प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

 

खानेपानीमा सबै वडामा क्रमिक सुधार हुँदै आए पनि केन्द्र रहेको उदयपुरगढीमा भने समाधान हुन नसकेको उनको भनाइ छ । भौतिक पूर्वाधारमा पालिका भवन, वडा भवन, विद्यालय भवन, स्वास्थ्य चौकी भवन निर्माण हुदै आएको अधिकृत श्रेष्ठले बताए ।