close

साप्सु खोला पुल: बिम तथा स्ल्याव ढलान अन्तिम चरणमा 

साप्सु खोला पुल: बिम तथा स्ल्याव ढलान अन्तिम चरणमा 

Trulli
ADVERTISEMENT

खोटाङ- १ महिना म्याद बाँकी रहँदा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला मोटरेबल पुलको बिम तथा स्ल्याब ढलान गरिएको छ ।

 

आगामी १७ जेठसम्म म्याद रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल साता दिन लगाएर ढलान गरिएको हो ।

 

निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिले ४० मिटर लम्बाइको प्रिस्ट्रेस बिम पुलको बिम तथा स्ल्याब ढलानको काम बिहीबार पूरा गरेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालिले गाउँपालिका अध्यक्ष राईकै उपस्थितिमा गत १२ वैशाखदेखि पुलको बिम तथा स्ल्याब ढलान सुरु गरेको थियो । पुलको ढलान सुकाउन र टेन्डम वायर तान्न कम्तीमा २८ दिन पर्खनुपर्ने सूर्य एन्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज एवं एकाउन्टेन्ट हरिप्रसाद बरालले जानकारी दिए ।

 

ढलान गरेको २८ दिनपछि टेन्डम वायर तानेपछि मात्र पुलको अन्य काम सुरु हुने निर्माण कम्पनीले बताएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त बजेटमा साप्सु खोलामा पक्की पुल निर्माण सुरु गरिएको हो ।

 

पुल निर्माणमा गाउँपालिकाको २ करोड रुपैयाँ हाराहारी बजेट खर्च हुनेछ । सूर्य एन्ड सन्स प्रालिले १७ जेठ २०७८ मा प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्ने गरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो ।