close

आइसोलेसन सञ्चालनमा ल्याउँदै भक्तपुरका स्थानीय तह

आइसोलेसन सञ्चालनमा ल्याउँदै भक्तपुरका स्थानीय तह

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरसको दोस्रो लहरले भक्तपुरमा पनि त्रास बढाएको छ । सहरी क्षेत्रमा मात्रै नभई ग्रामीण भेगमा समेत कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । 

 

कोरोना भाइरसले विकराल रूप लिन थालेपछि भक्तपुरका स्थानीय तह आइसोलेन निर्माणमा जुटेका छन् । भक्तपुरका ४ वटै स्थानीय तहले कोरोना संक्रमितका लागि आइसोलेन निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । 


चाँगुनारायण नगपालिकाले दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा सय बेडको आइसोलेसन सञ्चालन गर्ने भएको छ । हाललाई ४३ शय्या सञ्चालनमा आइसकेको छ । 

 

नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार हाल १७ शय्याको चाँगुनारायण अस्पताललाई ३० शय्यासम्म वृद्धि गर्ने र झाप्रोमा २ बेडलाई आइसोलसनको रूपमा सञ्चालन गरिएको छ । 

 

होम आइसोलेसनमा बसेकाहरूका लागिसमेत डाक्टरको परामर्श व्यवस्था गरिएको मिश्रले बताए । नगरपालिकाले कोभिड विशेष शव वाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिइएको जनाएको छ । होम आइसोलेसनमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख मिश्रले जानकारी दिए ।

 

मध्यपुर थिमि नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन सञ्चालन गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार पिसिआर ल्याब सञ्चालनलाई निरन्तरता दिँदै ७ भेन्टिलेटरसहित ९ शय्याको आइसीयु, १४ शय्याको एचडीयु र अक्सिजन प्लान्ट सञ्चालन गरेको छ । 

 

कोभिड-१९ को पहिलो लहरको महामारीमा नगरपालिकाले सोही केन्द्रमा ५० शय्याको आइसोलेसन सञ्चालन गरेको थियो । कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा कडा र बढी संक्रामक भएका र जटिल तथा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले एचडीयुसहितको आइसोलेसन शय्या बढाइएको श्रेष्ठले बताए ।

 

भक्तपुर नगरपालिकाको ब्रह्मायणीस्थित आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याइसकेको छ । स्वास्थ्य शाखाका इन्चार्ज रत्नसुन्दर लासिवाका अनुसार सामान्य संक्रमितका लागि ५० शय्याको आइसोलेसन केन्द्र र जटिल बिरामीको उपचारका लागि २५ शय्याको हाइ डिपेन्डेन्सी युनिट सञ्चालनमा ल्याइएको छ ।

 

भक्तपुर अस्पतालले २५ शय्याको हाइकेयर युनिटसहित ६८ शय्याको आइसोलेसन कक्ष सञ्चालन सुरु गरेको छ । अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार आइसोलेसन कक्षमा ६ शय्याको आइसियु, २५ शय्याको हाइकेयर र ३७ शय्याको जनरल युनिट रहनेछ ।