close

बाबुछोरीले जिते अवार्ड

बाबुछोरीले जिते अवार्ड

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- गायन यात्रामा रहेका बाबुछोरीले एकै स्टेजबाट २ फरक विधामा अवार्ड जितेर लगेको खुसी सायदै कमैका परिवारमा मात्र भित्रन्छ । यस्तै, दुर्लभ सन्देशका हकदार भएका छन्, बाबु वीरेन्द्र श्रेष्ठ र छोरी सुचिन्दा । 

 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर १ सिनाम पुर्ख्याैली घर भई हाल राजधानी काठमाडौं बस्दै आएका वीरेन्द्र र सुचिन्दाले योङ माइन्डस अवार्ड २०२१ को पछिलो संस्करणमा एकै स्टेजबाट अवार्ड हात पारेका हुन् ।

 

गायिका सुचिन्दाले सर्वोत्कृष्ट नवगायिका पप-लोकपममा अवार्ड हात पारेकी हुन् भने पिता वीरेन्द्रले ‘जाले रुमाल’ बोलको गीतमार्फत सर्वोत्कृष्ट लोकपप गायकको अवार्ड पाए । 

 

वीरेन्द्रको जाले रुमाल बोलको गीत अघिल्लो महिनासम्म करिब ३० लाख जनाले हेरिसकेका छन् । इनाक्सी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट स्रोता तथा दर्शकमाझ प्रस्तुत भएको जाले रुमाल पछिल्लो समय युवा पुस्ताको रोजाइमा परेको गीत तथा म्युजिक भिडियो हो ।

 

४ वर्षअघि ‘एकचोटि आइदेउन्’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा पहिलो पाइला अगाडि बढाएकी सुचिन्दा पप र लोकपपमा जम्न थालेकी छन् । ४ वर्ष अगाडि रेकर्ड गरिएको सो गीतको म्युजिक भिडियो भने डेढ वर्षअघि हाइलाइट्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

 

सोही गीतमार्फत योङ् माइन्ड्स अवार्डमा नवगायिका सुचिन्दाले सर्वोत्कृष्ट नवगायिका पप-लोकपप अवार्ड हात पारिन् । गायिका सुचिन्दा कर्णप्रिय स्वरकी धनी भएकै कारण बाबु वीरेन्द्रसँगै एउटै स्टेजबाट अवार्ड जित्न फल भएको बाबु वीरेन्द्रको भनाइ छ ।

 

काठमाडौं विश्वविद्यालयमा बीबीए तेस्रो वर्षमा अध्यनरत सुचिन्दा आफ्नो स्कुलको भवन निर्माण गर्न देउसीभैलो कार्यक्रममा लिड गायकको भूमिकामा उभिँदै गर्दादेखि गीत-संगीतप्रति आकर्षण बसेको बताउँछिन् ।

 

बढी मात्रामा अंग्रेजी गीत सुन्ने बानी परेकी सुचिन्दालाई बाबु वीरेन्द्रको संगीतप्रतिको लगाव, मोह र पारिवारिक माहोलले गायनतर्फ उत्साहित गरेको हो ।

 

सानै उमेरदेखि अध्ययनसँगै कला क्षेत्रमा समेत अब्बल सुचिन्दाले अध्ययनका क्रममा बूढानीलकण्ठ स्कुलमा प्रत्येक वर्ष ‘बेस्ट डान्सर’ को ताज पहिरिने गरेको उदाहरण छ । यसले सुचिन्दालाई गायन कलामा मात्र केन्द्रित नगरी नृत्यसहित खेलकुद क्षेत्रमा समेत जमेको स्रष्टाको रूपमा बुझ्न सकिन्छ ।

 

विद्यालयमा अध्ययन गर्दा राष्ट्रपति रनिङ सिल्डमा विभिन्न विधामा गोल्डमेडलसमेत प्राप्त गरेकी थिइन्, उनले । वीरेन्द्र पेसाले इञ्जिनियर हुन् । सबैको प्रिय, मधुर वाणीका धनी, हक्की र निडर स्वभाव वीरेन्द्रका विशेषता हुन् ।

 

हाइड्रो इञ्जिनियरिङमा लामो समय व्यतीत गरेका उनका आफ्नै हाइड्रो प्रोजेक्ट पनि सञ्चालनमा छन् भने हाइड्रो प्रोजेक्ट म्यानजमेन्टमा उनी कुशल मानिन्छन् ।

 

संगीतकार दीपक शर्माको शब्द संगीतमा बनेको ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट आफ्नो सांगीतिक जीवन यात्रा सुरु गरेका उनले यसै गीतमार्फत सर्वोत्कृष्ट लोकपप विधामा ओएस अवार्ड हात पारेका थिए ।

 

‘पिरिमको बाढी’ बोलको गीतबाट पुनः ओएस अवार्डको अर्को संस्करणमा दोस्रो पटक अवार्ड हात पार्न सफल भएका उनले योङ माइन्ड्स अवार्डको २ वर्षअघि भएको संस्करणमा पृथक धारमा सफलता हासिल गरेका र नेपाली संगीतमा समेत ठूलो योगदान दिने व्यक्तित्वको विधामा सम्मान पाएका थिए ।

 

केही समयअघि तेजस्वी कला केन्द्र एन्ड मिडियाले आयोजना गरेको डान्स च्याम्पियनसिप तथा विशिष्ट कलाकार सम्मानमा सांगीतिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि वीरेन्द्रलाइ ‘विशिष्ट सम्मान’ प्रदान गरिएको थियो ।

 

मोडल सङ्स अवार्ड २०१८ मा ‘बेस्ट लोकपप सिंगर’ बाट सम्मानित भएका उनले त्यसपछि उनले दर्जनौँ लोकप्रीय गीतमार्फत दर्शक-श्रोताको मन जित्दै आएका छन् ।