close

एमाले प्रवेश गरेका वडाध्यक्षलाई २४ घन्टे स्पष्टीकरण

एमाले प्रवेश गरेका वडाध्यक्षलाई २४ घन्टे स्पष्टीकरण

Trulli
ADVERTISEMENT

महोत्तरी- नेकपा एमालेमा प्रवेश गरेका वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले २४ घन्टे स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरेका बर्दिबास नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष फाल्गुन सुस्लिङ मगरलाई स्पष्टीकरण सोधिएको हो । 


एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले विघटन गरेपछि माओवादी नेता मगर एमाले प्रवेश गरेका थिए । जिल्ला कमिटीको निर्णयअनुसार अध्यक्ष मगरलाई २४ घन्टे प्रस्टीकरण सोधिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खडकाले जानकारी दिए ।
 
पार्टी छाडेर नेकपा एमालेको भेला, बैठकमा सहभागी भएको पाइएपछि स्पष्टीकरण सोधेर कारबाही अघि बढाइएको माओवादी केन्द्रले बताएको छ । पार्टीमा फिर्ता नभए सदस्यबाटै हटाएर पदमुक्त भएको जानकारी निर्वाचन आयोगलाई गराइने उनले बताए । 
 
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको माओवादी केन्द्र महोत्तरीले बताएको छ ।


एमालेमा प्रवेश गरेका वडाध्यक्ष मगरले आफूले स्पष्टीकरण तयार गरिसकेको र कसलाई बुझाउने भन्नेमा द्विविधा रहेको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गरेका छन् ।