close

भेरीमा जनशक्ति अभाव: प्रतिष्ठानले पठायो चिकित्सक

भेरीमा जनशक्ति अभाव: प्रतिष्ठानले पठायो चिकित्सक

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सकसहितको टोली पठाएको छ । भेरी अस्पतालको कोभिड वार्डमा जनशक्ति अभाव भएपछि प्रतिष्ठान विशेषज्ञ चिकित्सकसतिहको टोली आइतबार पठाएको हो । 


प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पठाइएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटाइएको हो ।

 

प्रतिष्ठानका निमित्त निर्देशक डा. राजीव शाहले सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराएपछि प्रतिष्ठानबाट चिकित्सक टोली खटाइएको बताए ।

 

सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सद्वय सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लागेका हुन् । मौसम राम्रो भए र उडान भए आइतबारै नेपालगञ्ज जाने तयारी छ ।

 

उनीहरूले करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछन् । सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि कर्णाली प्रतिष्ठानमा टोली बनाएको छ । उक्त टोलीले जहाँ अप्ठेरो पर्छ, त्यहाँ पुगेर सहयोग गर्नेछ । 

 

टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ । भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टिमले त्यसमा सहयोग र सहजीकरण गर्ने डा. गिरीले बताए ।


अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी संक्रमित भएर पनि उपचारमा खटिएको भेरी अस्पताल स्रोतले जनाएको छ ।