close

चंखेली गाउँपालिका केन्द्र सञ्चारविहीन

चंखेली गाउँपालिका केन्द्र सञ्चारविहीन

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको चंखेली गाउँपालिका केन्द्र एक सातादेखि केन्द्र सञ्चारविहीन भएको छ । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा सेवाग्राहीका दैनिक काममा कठिनाइ भएको चंखेली गाउँपालिका अध्यक्ष दनलाल चौलागाईंले बताए ।


अध्यक्ष चौलागाई भन्छन्, ‘कार्यालयमा टेलिफोनले कामै गर्दैन । फोन अवरुद्ध हुँदा स्थानीय र कार्यालयकै सेवा प्रवाहमा समस्या आएको छ ।’  चंखेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।


सूचनाको माध्यम फोनै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए÷नभएको अनुमानकै भरमा गाउँपालिका पुग्नुपर्छ’, मासिधाराका स्थानीय नवराज शाहीले भने ।  एक सातादेखि अवरुद्ध टेलिफोन मर्मत नहुँदा स्थानीय र कार्यालयमा सरकारी कामका फाइलको चाङ लागेको छ ।

 

गाउँपालिकामा रहेको एक मात्र  टेलिकमको टावर बिग्रिएपछि मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएको अध्यक्ष चौलागाईंले बताए ।

 

‘टेलिकमले विभिन्न बहानामा कहिले प्राविधिक, कहिले ठेकेदारका समस्या देखाएर झुलाउँदा पालिकाबासी सञ्चार सुविधाबाट वञ्चित छन् । केन्द्र मात्रै होइन, टेलिफोन सेवा अवरुद्ध हुँदा सबै वडाका काममा बाधा पुगेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहीले  भने ।

 

यस्तै, सर्केगाड गाउँपालिका वडा–२ मा रहेको टेलिफोन टावर ३ सातादेखि अवरुद्ध हुँदा ६ सय सय घरधुरी टेलिफोन सेवाबाट वञ्चित भएका छन । बद्देलेखमा राखिएको नेपाल टेलिकमको  टावरमा खराबी आउँदा रिप र उनापानी गाउँ सञ्चारविहीन भएका हुन् । 


मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको रिपगाउँका वीरजन महताराले बताए ।

 

टेलिफोन अवरुद्ध भएपछि उक्त क्षेत्रका उनापी, गाउँ, रिपगाउँलगायत आसपासका स्थानीय सञ्चार सेवाटबाट वञ्चित भएका छन् । ‘गाउँमै रहेको टावरले काम नगर्दा तीन घन्टाको पैदल हिँडेरै टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता छ’, महताराले भने ।