close

नमोबुद्धमा बन्यो अक्सिजनसहितको आइसोलेसन 

नमोबुद्धमा बन्यो अक्सिजनसहितको आइसोलेसन 

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले कोभिड-१९ महामारीलाई लक्षित गर्दै आइसोलेसन सेन्टर स्थापना गरेको छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा २५ शय्याको आइसोलेसन स्थापना गरिएको हो ।

 

आइसोलेसन कक्षका सबै शैयामा अक्सिजनको सुविधासमेत व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए ।

 

आइसोलेसनमा बस्ने कोभिड-१९ का बिरामीका लागि मेथिनकोट अस्पताल र नगरपालिकाको स्वास्थ्य शाखाबाट २४ सै घन्टा चिकित्सकसहितका स्वास्थ्यकर्मीले रेखदेख गर्ने व्यवस्था छ । 

 

नगरपालिकाले बिरामीको सेवाका लागि २४ सै घन्टा एम्बुलेन्स सेवा सञ्चालन गर्नेछ । हाललाई २५ शय्याको व्यवस्था गरिएको र आवश्यकताअनुसार थप व्यवस्थापन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

 

यसअघि गत वर्ष पनि नमोबुद्धले जनक बहुमुखी क्याम्पस हातामै आइसोलेसन एवं क्वारेन्टाइन सञ्चालन गरेको थियो । यो वर्ष डिसिसिएमसीले कोभिड-१९ का बिरामीको उपचारका लागि धुलिखेल र शिर मेमोरियल अस्पतालसँगै मेथिनकोट अस्पताललाई पनि चयन गरिसकेको छ ।

 

अहिलेसम्म नमोबुद्धमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ रहेको छ । त्यसमध्ये जिल्लाभित्र होम आइसोलेसनमा १२ जना छन् भने जिल्लाबाहिर ६ जना छन् ।

 

कोभिड-१९ को महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले लागू गरेको निषेधाज्ञालाई दृष्टिगत गर्दै नमोबुद्धले सोमबारदेखि साताव्यापीका अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ । नगरपालिका, वडा कार्यालय र नगरपालिकाअन्तर्गतका कार्यालयमा सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।