close

सुगममा उपचार नपाएपछि जुम्ला आउन थाले कोभिडका बिरामी 

बिजुली अभावले अक्सिजन उत्पादनमा समस्या 

सुगममा उपचार नपाएपछि जुम्ला आउन थाले कोभिडका बिरामी 

बिजुली अभावले अक्सिजन उत्पादनमा समस्या 

Trulli
ADVERTISEMENT

जुम्ला- दुर्गम थलोको उपमा पाएको कर्णाली पछिल्लो समय सुगम हुने तरखरमा छ । सुगमबाट दुर्गम कर्णालीमा कोरोना संक्रमणका बिरामी उपचार गर्न आउन थालेका छन् । 

 

सुगम कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमणका बिरामीले बेड र अक्सिजन नपाएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि आउने गरेका हुन् । 

 

प्रदेश अस्पतालमा कोरोना संक्रमितका बिरामीले अक्सिजन र बेड नपाएपछि उपचारका लागि ५ जना बिरामी जुम्लास्थित अस्पतालमा आएको प्रतिष्ठानका निमित्त निर्देशक डा. राजीव शाहले बताए । उनले भने, ‘सुर्खेतबाट आएका ५ जना बिरामीमध्ये २ जनालाई अक्सिजन प्रयोग गरी उपचार थालिएको छ ।’ 

 

जुम्ला अस्पतालमा अझै बाहिर जिल्लाबाट कोभिड बिरामी थपिने सम्भावना रहेको उनको भनाइ छ । डा. शाहले भने, ‘सुर्खेत, नेपालगञ्जका अस्पतालमा बिरामी भरिभराउ छन् । बेड पाउन सकेका छैनन् ।’ 

 

प्रतिष्ठानमा २ सय बढी अक्सिजन सिलिन्डर मौज्दात रहेको निमित्त निर्देशक डा. शाहले जानकारी दिए । ‘मौज्दातमध्ये १ सय सिलिन्डर कोभिड बिरामीका लागि छुट्याएका छौँ । आइसोलेसन बेड १२०, एचडीयु बेड २४ वटा, आइसियु बेड १२ वटा र भेन्टिलेटर १५ वटा रहेका छन्,’ उनले भने ।

 

अन्य कोभिड स्वास्थ्य सामग्री, पिपिई, मास्क, स्यानिटाइजर अहिले २/३ महिना पुग्ने मौज्दात रहेको उनको भनाइ छ । 

 

प्रतिष्ठानले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सकसहितको टोली पठाएको छ । भेरी अस्पतालको कोभिड वार्डमा जनशक्ति अभाव भएपछि प्रतिष्ठान विशेषज्ञ चिकित्सकसतिहको टोली आइतबार पठाएको हो । 

 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्छन्, ‘कुनै बेला नेपालगञ्जबाट पोस्टमार्टमका लागि चिकित्सक कुरिरहेको जुम्ला उपचारका लागि अहिले चिकित्सक पठाउने भएको छ ।’

 

महामारीमा स्वास्थ्य मन्त्रालयको समन्वयमा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एनेस्थेटिस्ट प्रमुख डा प्रविण गिरी नेतृत्वमा ६ जना चिकित्सक भेरी अस्पतालमा खटाइनु सबल पक्ष रहेको उनको बुझाइ छ । 

 

एम्बुलेन्स र शव वाहन छैन 


कोरोना संक्रमित बोक्ने प्रतिष्ठानमा एम्बुलेन्स छैन । कोभिड–१९ एम्बुलेन्स नहुँदा संक्रमति अस्पतालसम्म ल्याउन समस्या भइरहेको छ । पहिलो लहरको कोरोना संक्रमणका बेला पनि यस्तै समस्या झेल्नु परेको थियो । 

 

प्रदेश र केन्द्र सरकारसँग कोभिड-१९ एम्बुलेन्स व्यवस्थापनका लागि आग्रह गर्दा समस्या समाधान नभएको प्रतिष्ठानका प्रशासन अधिकृत द्वन्द्व शाहीले बताए । 

 

उनले भने, ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, कानुनमन्त्री, सामाजिक विकासमन्त्रीलगायत संघीय सरकारबाट जुम्ला आउने मन्त्रीलाई कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर समस्या समाधान भएन । शव वाहनको पनि उस्तै समस्या छ । पहिलो लहरको कोरोना संक्रमणका बेला संक्रमितको जुम्लामा मृत्यु भएन । तर, दोस्रो लहरमा पहिलेजस्तो होला भन्न सकिँदैन ।’ 

 

बिजुली अभावले अक्सिजन उत्पादनमा समस्या 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्थापना गरिएको अक्सिजन प्लान्टले फुलफेज अक्सिजन उत्पादन गर्न सकिरहेको छैन । फुलफेजमा अक्सिजन उत्पादन गर्न ७६ किलोवाट बिजुली आवश्यक पर्दछ । आवश्यक बिजुली नहुँदा अक्सिजन उत्पादन गर्न नसकेको हो । 

 

२ करोड २० लाख रुपैयाँ खर्चिएर २०७६ मा ल्याइएको अक्सिजन प्लान्टले आंशिक रूपमा मात्रै अक्सिजन उत्पादन गर्न सकेको छ । प्लान्टले उत्पादन गरेको अक्सिजन पाइपमार्फत सीमित बेडमा मात्रै पुर्‍याउन सकिएको तर सिलिन्डर भर्न नसकिएको निर्देशक डा. राजीव शाहले बताए । 

 

‘जुम्लामा राष्ट्यि प्रसारण लाइन पुगेको छैन । जुम्लामा उत्पादित बिजुलीले सिलिन्डर भर्ने गरी अक्सिजन प्लान्ट सञ्चालन गर्ने क्षमता पुग्दैन’, उनले भने, ‘अहिले नेपालगञ्जबाट सिलिन्डर भरेर ल्याउने गरेका छौँ । देशभर अक्सिजन हाहाकार हुँदै छ । यसको प्रभाव जुम्लामा पनि पुग्ने सम्भावना देखियो छ । अक्सिज प्लान्ट सञ्चालन गर्न चाहिने मुख्य साधन बुस्टरै छैन । खरिद प्रक्रियामै छौँ । छिट्टै अक्सिजन उत्पादन हुने गरी तयारीमा जुटेका छाैँ ।’

 

प्रतिष्ठानमा अक्सिजन प्लान्टको बायोमेटिक इन्जिनियर पनि छैनन् । सामान्य तालिम लिएका कर्मचारीले प्लान्ट सञ्चालनमा ल्याएका छन् । ‘सामान्य सामान खरिद गर्नुपर्दा समस्या हुन्छ’, उनले भने, ‘इन्जिनियरका लागि विज्ञापन गरे पनि निवेदन पर्दैनन् ।’ 

 

अक्सिजन प्लान्ट हुँदाहुँदै पनि प्रतिष्ठानले चासो नदिएकै कारण कोरोना महामारीमा समेत अक्सिजन उत्पादन नभएकामा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आपत्ति जनाए । 

 

‘फेरि पनि बिजुलीको समस्या देखाउँदै उत्पादन हुन नसकेको कुरा आएको छ । यथाशीघ्र प्रतिष्ठानले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनुपर्छ’, बुढाले भने ।

 

कोभिड संकट व्यवस्थापन समितिको बैठकले पनि तत्काल अक्सिजन प्लान्ट सञ्चालन ल्याउन आग्रह गरेको छ । करोडाँै रुपैयाँ खर्च गरेर मेसिन ल्याउने तर सेवा प्रवाह सुरु गर्न ढिलासुस्ती नगर्न प्रतिष्ठानलाई डिसिसिएमसीको बैठकले ध्यानाकर्षण गराएको सहायक प्रअिज नन्दराम चौलागाईंले बताए ।