close

मुगु अस्पतालमा अत्यावश्यबाहेक सबै सेवा ठप्प 

मुगु अस्पतालमा अत्यावश्यबाहेक सबै सेवा ठप्प 

Trulli
ADVERTISEMENT

मुगु- जिल्ला अस्पताल मुगु ठिनीमा सोमबारदेखि ओपिडीबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारबाट लागू हुने गरी साताव्यापी ओपिडीबाहेक सबै सेवा बन्द गरिएको हो ।

 

छिमेकी जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि मुगुमा पनि सन्त्रास बढेको छ । पछिल्लो तथ्यांकअनुसार मुगुमा सुरक्षाकर्मीसहित ९ जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका ९ मध्ये १ जनाको अवस्था गम्भीर छ भने ८ जनाको अवस्था भने सामान्य छ । 


मुगुमा बाहिरी जिल्लाबाट आउने नागरिक र कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । मुगुकै १ जना महिलामा पनि पोजेटिभ देखिएपछि परीक्षण बढाउनुपर्ने अवस्था आएको जिल्ला अस्पताल ठिनी मुगुका सूचना अधिकारी पर्शुराम नेपालीले बताए । अस्पतालले स्थानीयको सुविधाका लागि हट नम्बरको व्यवस्था गरेको उनको भनाइ छ ।

 

मुगुमा पनि कोरोनाका संक्रमित फेला पर्न थालेपछि जिल्लामा रहेका ५ वटा स्थानीय तहहरूले आइसोलेसन, क्वारेन्टाइन व्यवस्था, हेल्प डेस्क, स्वास्थ्य सामग्रीलगायत उपकरणसहित तयारी अवस्थामा बस्न निर्देशन दिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकेटीले बताए । 

 

६ बजेपछि बजार बन्द 


सदरमुकाम गमगढी बजारलगायत जिल्लाका स्थानीय तहका साना सहरमा सामाजिक दूरी कायम गर्नुपर्ने, अनिवाय मास्क लगाउने र अति आवश्यकबाहेक अन्य पसल बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्ने निर्णय भएको छ । 

 

जिल्ला बाहिरबाट आएका मानिसमा बढी कोरोना संक्रमित देखिएपछि जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट १५ दिनसम्म होम आइसोलेसनमा बस्न सुझाव दिए पनि बजार र बस्तीमा यसको पालना भएको छैन ।