close

हलेसी तुवाचुङका सरकारी कार्यालय बन्द

हलेसी तुवाचुङका सरकारी कार्यालय बन्द

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना महामारीलाई लक्षित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्थाबाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

 

दिनानुदिन कोभिड-१९ को संक्रमण दर तीव्र गतिमा बढिरहेको सन्दर्भमा संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नगस्तरीय समन्वय समिति संयोजक एवं नगरप्रमुख इवन राईको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले नगरभित्रका स्वास्थ्य संस्था, औषधी पसल र खाद्यान्न पसलबाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा आगामी वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

 

सर्वदलीय बैठकको निर्णय मंगलबारदेखि लागू हुने नगरप्रमुख राईले जानकारी दिए । सर्वदलीय बैठकले नगरभित्रका खाद्यान्न पसल भने स्वास्थ्य मापदण्ड पालना गरेर दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्ने, महामारीका बेला कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्ने र कालोबजारी गरेको पाइए कारबाही गर्ने निर्णय गरेको छ ।

 

यस्तै, संक्रमणलाई रोकथाम गर्न नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षको नेतृत्वमा सम्बन्धित वडाका सम्पूर्ण शिक्षकलाई परिचालन गर्दै बाहिरी जिल्लाबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, कोभिड-१९ बाट बच्ने उपायबारे स्वास्थ्य शिक्षा दिने र तिनलाई होम क्वारेन्टाइनमा बस्न लगाउने निर्णय भएको छ ।

 

कोभिड-१९ बाट बच्ने र बचाउने सन्दर्भमा सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गराउँदै वडा-वडामा सचेतनामूलक गतिविधि सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दलले आ-आफ्नो भ्रातृ तथा शुभेच्छुक संगठनलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख राईले बताए ।

 

बैठकले कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले गत १५ वैशाखमा पठाएको पत्रको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकमा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि सहभागी थिए ।