close

ताप्लेजुङका ३ वटा पालिकाको सेवा स्थगित

ताप्लेजुङका ३ वटा पालिकाको सेवा स्थगित

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोभिड-१९ को संक्रमण फैलिँदै गएपछि ताप्लेजुङको मैवाखोला, आठराई त्रिवेणी र फुङ्लिङ नगरपालिकाले सोमबारबाट अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेको जनाएका छन् । 

 

मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर गाउँ कार्यपालिका र वडा कार्यपालिकासहितका निकायबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा ७ दिनसम्म स्थगित गरिएको बताए ।

 

उनका अनुसार पालिकाभरिको स्वास्थ्य सेवा भने जारी रहनेछ । फुङ्लिङ नगरपालिका क्षेत्रमा सोमवार साँझ ६ बजेबाटै ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले ७ दिनका लागि निषेधाज्ञा लगाएको र नगर क्षेत्रमा कोरोना संक्रमण बढिरहेकाले फुङ्लिङले पनि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

 

नगरप्रमुख छत्रपति प्याकुरेलले तत्काललाई ७ दिनका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताए । आठराई त्रिवेणी गाउँपालिकाले स्वास्थ्यसँग सम्बन्धित र अत्यावश्यकबाहेक ७ दिनका लागि सेवा प्रवाह स्थगन गरेको छ ।

 

गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले अत्यावश्यक सेवा लिन जाँदासमेत अनावश्यक रूपमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर मात्र लिन र अनिवार्य मास्क लगाएर आउन सेवाग्राहीलाई आग्रह गरेका छन् । 

 

उनका अनुसार ७ दिनका लागि योजनासम्बन्धी दर्ता, सम्झौता र फरफारक, सञ्चालनमा रहेका विद्यालयका सम्पूर्ण परीक्षा, वडाबाट प्रदान गरिने सिफारिस र पञ्जीकरणसम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको हो ।