close

बाजुरा जिल्ला अस्पतालमा पिसिआर मेसिन आउँदै 

काेराेना परिक्षणकाे लागि अछाम जानुपर्ने बाध्यताकाे अन्त्य

बाजुरा जिल्ला अस्पतालमा पिसिआर मेसिन आउँदै 

काेराेना परिक्षणकाे लागि अछाम जानुपर्ने बाध्यताकाे अन्त्य

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा पीसीआर मेसिन आउने भएको छ । सांसद लालबहादुर थापाको पहलमा बाजुरामा केही दिनमै पिसिआर मेसिन आउने भएको हो ।

 

सुदूरपश्चिमको विकट जिल्ला बाजुरामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी पिसिआर मेसिन उपलब्ध गराएको सांसद थापाले बताए । पिसिआर मेसिन जिल्लामा ल्याइएपछि कोरोना परीक्षणमा सहज हुने उनको भनाइ छ ।


बाजुरा संक्रमणको उच्च जोखिममा रहे पनि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन अभाव भएकाले सांसद थापाले पहल लिएका हुन् । ३ सय थान एन्टिजेन किट, १ हजार ५ मास्क, स्यानिटाइजर ५० थान र आइआर थर्मोमिटर ५ थान सांसद थापाको पहलमा उपलब्ध भएको छ ।

 

केही दिनमै बाजुरा पठाउने तयारी भएको सांसद थापाले बताए । बाजुरामा पिसिआर मेसिन अभावका कारण स्वाब संकलन गरी रिपोर्टका लागि अछामलगायत ठाउँमा जानुपर्ने र महिनौँ कुर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । मेसिन नहुँदा बाजुरामा एन्टिजेन विधिबार परीक्षण गरिएका कोरोना पोजेटिभको पिसिआर विधिबाट परीक्षण हुने गरेको छैन ।

 

मार्तडीमा ३८ जना संक्रमित 


सदरमुकाम मार्तडीमा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ । केही दिनयता मात्र ३८ जना कोरोना संक्रमित भएका छन् । संक्रमित दिनप्रतिदिन बढिरहँदा पनि व्यवस्थापन फितलो देखिएको छ । जिल्ला बाहिर ठेगाना भएका तर सदमुकाममै बसोबास गरिरहेका ३८ जनामा कोरोना संक्रमण देखापरेको हो ।

 

जिल्ला अस्पताल बाजुराले ५ दिनयता ८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको हो । सदरमुकाममै कोराना संक्रमण बढे पनि जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकाय मौन छन् । बजार क्षेत्रमा भीडभाड अत्यधिक देिखन्छ । मास्कबिनै नागरिकहरू बजार घुमिरहेका छन् । 


 
जिल्ला अस्पताल बाजुरामा आइतबार एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको जिल्ला अस्पताल कोरोना फोकल पर्सन चुडामणि पन्तले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाजुरा सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार संक्रमण दिनानुदिन बढ्दै गएको छ ।

 

‘कोरोना व्यवस्थापन तथा रोकथामका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उत्तरी क्षेत्रका स्थानीय तहको अनुगमनमा जानुभएको छ । उहाँ फर्केर आएपछि जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठक बसेर आवश्यक निर्णय गर्छांै’, भण्डारीले भने ।


 
बाजुरामा पछिल्लो २४ घन्टामा १५ जना थपिएसँगै संक्रमितको संख्या ५३ पुगेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । यीमध्ये बडिमालिका नगरपालिकामा ८ जना, बाहिरका ४ जना, त्रिवेणी नगरपालिकामा २ र बूढीनन्दा नगरपालिकामा १ गरी १५ जनामा कोरोना संक्रमण देखिएको कार्यालय प्रमुख चन्दको भनाइ छ ।


हालसम्म बाजुरका स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा कोरोना संक्रमित शून्य छन् । ५३ जना संक्रमितमध्ये १८ जना आइसोलेसन र ३५ जना होम आइसोलेसनमा छन् । 

 

हिमाली गाउँपालिकाको सेवा बन्द


बाजुराको हिमाली गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि शनिबारदेखि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले वैशाख अन्तिमसम्म गाउँपालिकाका कामकाज बन्द गर्ने निर्णय गरेको हो ।

 

कोरोनाको जोखिम बढेपछि खाद्यान्न बेच्ने पसल दिउँसो ११ बजेदेखि २ बजेसम्म खोलिए पनि सरकारी तथा गैरसरकारी कार्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कवीन्द्र पाण्डेले जानकारी दिए ।


 
कोरोना संक्रमणको जोखिम बढेपछि गाउँपालिकाले वडा नम्बर ७ को चुलीगाड, गाउँपालिकाको केन्द्र धुलाचौर र वडा नम्बर ५ को कवाडीमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ ।

 

आइसोलेसन बेड तयारी अवस्थामा राख्ने र पालिकामा सञ्चालन हुने यातायात पनि बन्द गर्ने निर्णय भएको गाउँपालिकाका रोजगार संयोजक बृखराज पाण्डेले बताए ।

 

कोल्टी एयरपोर्टमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

 

बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीमा रहेको विमानस्थलमा आइतबारदेखि हेल्थ डेस्क स्थापना गरिएको छ । 

 

जिल्ला भित्रिने र बाहिरिने यात्रुको स्वास्थ्य जेकजाँचका लागि कोल्टी विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको नगरपालिकाले जनाएको छ । कोरोना प्रभावित क्षेत्रबाट आउजाउ गरेका नागरिकबाट संक्रमण फैलिन सक्ने आशंकामा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो ।
 
कोल्टी विमानस्थलबाट हुने आउजाउमा पनि कडाइ गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी दिए । ‘विमानस्थलमा औषधी उपकरण र स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याएका छौँ । जिल्ला बाहिर जाने र भित्रिने यात्रुले अब अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्नेछ’, बुढाले भने ।
 
कोल्टी विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीलाई बिहानदेखि बेलुकासम्म बस्न निर्देशन दिएको छ । हाल विमानस्थलमा दैनिक ५ देखि ८ वटासम्म उडान हुने गरेको नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले बताए ।