close

विमानस्थलदेखि चोक सुधारसम्मका उपलब्धि

विमानस्थलदेखि चोक सुधारसम्मका उपलब्धि

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङ नगरपालिकाले गत आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्दै कार्य प्रगति र उपलब्धिमूलक भएको जनाएको छ ।

समीक्षा बैठकमा नगरप्रमुख जनकराज पौडेलले गत आवमा केही समय सञ्चालनमा रहेर बन्द भएको बलेवा विमानस्थलदेखि बाग्लुङ बजारको चोक सुधार गरिएको बताए । बलेवा विमानस्थलमा यात्रु नपाएर जहाज नआए पनि नगरपालिकाले त्यसलाई उपलब्धिमूलक मानेको हो ।


अहिले विमानस्थल कालोपत्रेको काम नागरिक उड्डयन प्राधिकरणमार्फत भइरहेको छ । ‘३ वर्षमा उल्लेख्य उपलब्धि हासिल भएकाले नगरको कार्यप्रगति झल्काइदिएको छ,’ पौडेलले भने, ‘हिलाम्मे हुने सडक र चोक सुधार भएका छन् । शिक्षक नियुक्तिमा हुने चलखेल अन्त्य भएको छ,’ नगरप्रमुख पौडेलले भने ।


महिला सेल निर्माण, दर्जनाैं ऐन–नियम निर्माण, माझी बस्ती निर्माण, विमानस्थल सञ्चालन, कृषि क्षेत्रमा सुधारको काम गरेको उनले दाबी गरे । सुन्तला खेती विस्तार गरेर नगरलाई उत्पादनमुखी बनाइएको उनको भनाइ छ । 


‘तीन वर्षको सामूहिक समीक्षा गर्न नपाए पनि समग्रमा नगरले पाएको सफलताप्रति गर्व गर्नुपर्छ’, उनले भने । समीक्षा बैठकमा नगर कार्यपालिका सदस्यहरूले कार्यालयबाट भएको खर्चका विषयमा चासो राखेका थिए ।

 

‘गत असारमै भुक्तानी गरेर असोजमा यातायातका साधन किन्नेदेखि खर्चको पारदर्शिता नदेखिनु पनि केही कमजोरी छ,’ वडा–२ का वडाध्यक्ष जीवन आचार्यले भने, ‘सूचना लुकाएर हैन, सार्वजनिक गरेर सफलतामा पुगिन्छ ।’