close

सिरिजंघामा वडागत आलोपालो सेवा

सिरिजंघामा वडागत आलोपालो सेवा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडागत रूपमा प्रवाह हुने सेवाका लागि आलोपालो प्रणाली लागू गरेको छ । 

 

कोभिड-१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गाउँपालिकाले पालिकाभरका ८ वटा वडामा प्रवाह हुने सेवाका लागि दिन निर्धारण गरेको हो ।

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार अब वडा नम्बर १ सिनामबाट प्रत्येक बिहीबार, वडा नम्बर २ आम्बेगुदिनबाट प्रत्येक बुधबार, वडा नम्बर ३ सिकैचाबाट प्रत्येक मंगलबार र वडा नम्बर ४ तेल्लोकबाट प्रत्येक शुक्रबार सेवा प्रदान गरिनेछ ।

 

यस्तै, वडा नम्बर ५ पेदाङ, वडा नम्बर ६ मामाङ्खेबाट प्रत्येक सोमबार, वडा नम्बर ७ खेवाङ र वडा नम्बर ८ याम्फुदिनबाट प्रत्येक आइतबार सेवा प्रदान हुने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

 

उनका अनुसार सामाजिक सुरक्षा भत्तालगायत बैंकिङ सेवासमेत नेपाल बैंक तेल्लोक शाखाबाट माथि उल्लिखित वडाले वितरण गर्ने सेवा दिनकै आधारमा हुने गरी तय गरिएको छ । कार्यालयमा हुने सेवाग्राहीको चापलाई दृष्टिगत गरी अर्को व्यवस्था नहुन्जेल यो निर्णयमा पुगिएको सिरिजंघा गाउँपालिकाले जनाएको छ ।