close

आइसोलेसन निर्माणमा जुटे खोटाङका स्थानीय तह 

आइसोलेसन निर्माणमा जुटे खोटाङका स्थानीय तह 

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना भाइरसका संक्रमितलाई लक्षित गर्दै खोटाङका स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लाका १० वटै स्थानीय तहले आ-आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका हुन् ।

 

कोभिड-१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि कतिपय स्थानीय तहले पुराना आइसोलेसन सेन्टरलाई नै नयाँ स्वरूपमा ब्युँताएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । फेला परेका संक्रमितलाई सम्बन्धित स्थानीय तहले आ-आफ्नो आइसोलेसन सेन्टरमा लगेर उपचारमा राख्नेछन् ।

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको १३ वैशाखको बैठकले नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्देशनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १५ वैशाखमा ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । दिनानुदिन कोभिड-१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई दृष्टिगत गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

 

आइसोलेसन सेन्टरका लागि १० सिलिन्डर अक्सिजन ल्याइसकिएको र थप १० थान ल्याउने तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । 

 

नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलब्ध गराउन मिल्ने आइसोलेसन सेन्टर निर्माण गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्र्रको ठूलो हलमा पुरुष र अर्को सानो कोठामा महिलालाई राख्ने गरी बेड मिलाइएको छ ।

 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले स्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टरका रूपमा तयारी अवस्थामा राखेको छ । वडा नम्बर ५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा गत ११ मंसिरमा स्थापना गरिएको स्थायी कोभिड अस्पतालमा १० बेडको आइसोलेसन सेन्टर बनाइएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

 

डाक्टरसहितको अस्थायी कोभिड अस्पताल संघीय सरकारले उपलब्ध गराएको १० लाख र नगरपालिकाको लगानीमा स्थापना गरिएको हो । ऐँसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा बनाएको ५ बेडको पुरानै आइसोलेसन सेन्टरलाई नयाँ स्वरूपमा उपयोग गर्ने तयारी गरेको छ ।

 

स्वास्थ्य केन्द्रमा अक्सिजनसहितकै आइसोलेसन सेन्टर व्यवस्था गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

कोभिड-१९ लाई दृष्टिगत गर्दै केपिलासगढी गाउँपालिकाले बाक्सिला बजारमा रहेको बसपार्कमा १६ बेडको नयाँ आइसोलेसन सेन्टर निर्माण गर्ने तयारी गरेको छ । आइसोलेसनका लागि आवश्यक अक्सिजन भने खरिद गर्न नपाइएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले सुनाए ।

 

यस्तै, खोटेहाङ गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टर बनाउने भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्द्रेणी पोखरीमा स्थापना गरिएको ५ बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरका रूपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 

 

जन्तेढुंगा गाउँपालिकामा भने आइसोलेसन सेन्टरका लागि उपयुक्त स्थान अभाव भएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले जानकारी दिए । यद्यपि, आवश्यक आइसोलेसन व्यवस्थापन गरिने पोखरेलको भनाइ छ ।

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताललाई नै आइसोलेसन सेन्टरमा रुपान्तरण गर्ने भएको छ । वडा नम्बर १ याम्खास्थित १० बेडको अस्थायी कोभिड अस्पताललाई आइसोलेसन सेन्टरका रूपमा उपयोगमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको भनाइ छ ।


बराहपोखरी गाउँपालिकामा आवश्यक आइसोलेसन सेन्टर स्थापनाका विषयमा बुधबार बैठक बोलाएको गाउँपालिका उपाध्यक्ष गोमा मगरले जानकारी दिइन् ।

 

यस्तै, रावाबेँसी गाउँपालिकाले २० बेडको नयाँ आइसोलेसन सेन्टर निर्माण सुरु गरेको छ । वडा नम्बर १ कुभिन्डेको हरम्टारमा साप्ताहिक हाट लाग्ने स्थानमा टिनले बारेको र टिनकै छाना हालेर आइसोलेसन सेन्टर निर्माण सुरु गरेको हो ।

 

शारदा मावि खार्पामा १० बेडको क्वारेन्टाइन बनाउने तयारी गरिएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

 

साकेला गाउँपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर निर्माण गर्दै छ । साकेला गाउँपालिका वडा नम्बर २ रतन्छास्थित स्वास्थ्य चौकीमा स्थापना गरिएको ५ बेडको अस्थायी कोभिड अस्पतालमा १५ बेड थप गरेर आइसोलेसन सेन्टर स्थापनाको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए ।

 

‘हामीसँग अस्थायी कोभिड अस्पतालमा ५ बेडको आइसोलेसन पहिले नै छ । अब १५ बेड थप गर्छौं,’ मगरले भने, ‘अक्सिजन सिलिन्डर भने ४ वटा मात्र पाइयो । पुरानो अक्सिजन सिलिन्डर ५ वटा थियो । सिलिन्डर संख्या ९ वटा पुगे ।’