close

खातीगाउँ र टोम्टाल्लाका घरआँगनमै छ्यालब्याल पानी

खातीगाउँ र टोम्टाल्लाका घरआँगनमै छ्यालब्याल पानी

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर २ टोम्टाल्लाकी ५० वर्षीया नन्दकला विक पहिले आधा घन्टाको बाटो हिँडेर पानी बोक्थिन् । बर्खामा पानीमै भिज्दै ठूलो गाग्री लगेर धारा पुग्थिन् । 

 

हिउँदमा कठ्यांग्रिँदो जाडोमा सलको एक सप्को टाउकोमा फालेर धारा दौडिन्थिन् । अहिले अल्छीवाडी किमडीखोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएर धारामा पानी झर्दा उनी मात्र होइन, वडा नम्बर १ खातीगाउँ र २ नम्बरका टोम्टाल्लावासीमा खुसीले उछाल ल्याइदिएको छ । 

 

पहिले यहाँ खानेपानीको निकै समस्या थियो,’ नन्दकलाले भनिन्, ‘अहिले घर नजिकै धारामा पानी झर्दा निकै सुविधा भएको छ ।’ अहिले साना बच्चाबच्चीलाई नुहाउन, पुराना लुगाकपडा धुन पनि सहज भएको उनले सुनाइन् ।

 

‘पहिले आधा घन्टाको बाटो हिँडेर ल्याएको पानी कहिलेकाहीँ शुद्ध हुन्थेन । गाईगोरुले पिउने पानी हामीले पिउँथ्यौँ । अहिले निकै सुबिस्ता भयाको छ । वर्षौंदेखिका मैला लुगा कपडा धुन पायाका छौँ,’ विक खुसी सुनिइन् ।
अर्की गृहणी डिल्ली विकको पनि खुसीको सीमै छैन । पहिले लुगाकपडा धुन र पिउनेपानीको अभाव हुने यो ठाउँमा घरका धारामा पानी जोडिदिएर गुन लगाए’, उनले भनिन्, ‘पहिले घरमा भएका भाँडाकुडा पनि पानी अभावले फोहोर हुन्थे । अब घरमै पानीका धारा आए । भाँडाकुँडा र मुखदाँत टल्काउँछौँ ।’


अहिले २ वटा मुहानको पानी एकै ठाउँ मिसाउँदा खानेपानीको समस्या हटेको वडा नम्बर १ का नौले विकले बताए । 


ठाटीकाँध गाउँपालिकाको १९ लाख ९ हजार ५ ९९, संघीय सरकारको ४ लाख ५० हजार, फिनल्यान्ड सरकारको ५ लाख ५० हजार र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट आयोजना सम्पन्न भएको आरभी डब्लुआरएमपीका जलस्रोत प्राविधिक विष्णु रावतले जानकारी दिए । 

 

अल्छीवाडी किमडीखोला खानेपानी योजनाबाट १ र २ नम्बर वडाका करिब ४९ घरधुरी लाभान्वित भएका छन् ।  उक्त ठाउँमा १३ वटा धारा, २ वटा ट्यांकी, ३ मुहान र ५ वटा घेराबार लगााइएको छ ।

 

असारमा सम्पन्न गर्ने अन्तिम मिति भए पनिदिनरात खटिएर योजना सम्पन्न गरेर प्रत्येक घरका धारामा वैशाखमै पानी झारेको अल्छीवाडी किमडीखोला खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । 

 

आरभीडब्लुआरएमपी र ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानी निर्माण पूरा भएपछि स्थानीयलाई सहज भएको छ ।