close

कोरोना महामारी: गाउँ भित्रिने नागरिकबारे स्थानीय सरकार नै बेखबर 

कोरोना महामारी: गाउँ भित्रिने नागरिकबारे स्थानीय सरकार नै बेखबर 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडाका ५३ वर्षीय पुरुष र २० वर्षीय युवकलाई २० वैशाखमा कोरोना संक्रमण पुष्टि भयो । 

 

काठमाडौंमा अध्ययनरत २० वर्षीय युवक १५ वैशाख र अर्का पुरुष चितवनबाट १६ वैशाखमा घर आएका थिए । उनीहरूबारे गाउँपालिकाले सोधखोज गरेन ।

 

कोभिड-१९ महामारी सहरबाट क्रमशः गाउँमा प्रवेश गर्दै छ । कोभिड-१९ बाट गाउँ पनि असुरक्षित देखिन थालेका छन् । सामान्यतः कोभिड-१९ प्रभावित क्षेत्रबाट भित्रिने व्यक्तिमार्फत गाउँमा संक्रमण फैलिन सक्ने खतरा बढी देखिएको छ । 

 

संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि महामारीका बेला गाउँ भित्रिने हरेक व्यक्तिको विवरण संकलन तथा निगरानी जरुरी छ । 


त्यसमा पनि भारत, रोजगारमूलक देश तथा प्रभावित क्षेत्रबाट आएका नागरिकबारे स्थानीय सरकार चनाखो हुन आवश्यक देखिन्छ । तर, खोटाङका अधिकांश स्थानीय तहले अन्यत्रबाट आउने व्यक्तिको विवरण संकलनमा ध्यान पु¥याउन सकेका छैनन् ।

 

कोरोना कहरमा कति जना र कताबाट गाउँ आए, गाउँ आउने व्यक्ति होम आइसोलेसनमा बसेका छन् वा छैनन्, तिनको स्वास्थ्य अवस्था, ट्राभल हिस्ट्री लगायतबारे स्थानीय सरकार प्रायः बेखबर छन् । 

 

१० वटा स्थानीय तहमध्ये साकेला गाउँपालिकाले भने कोभिड-१९ को दोस्रो लहरको महामारी सुरु भएसँगै जिल्ला बाहिरबाट आउने व्यक्तिको विवरण संकलन सुरु गरेको जनाएको छ । गाउँमा ‘को आए, कहिले आए, कहाँबाट आए, कसरी बसिरहेका छन्, स्वास्थ्य अवस्था कस्तो छ’ लगायतका प्रारम्भिक सूचना संकलनका लागि स्वास्थ्य शाखा संयोजकलाई जिम्मेवारी दिइएको छ ।

 

महामारीका बेला गाउँ भित्रिने व्यक्तिबारे जानकारी संकलन गर्दै स्वास्थ्य संयोजकलाई उपलब्ध गराउन हरेक स्वास्थ्य चौकीका इन्चार्जलाई फोन खर्चसमेतको व्यवस्था गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए ।

 

‘हामीले १८ वैशाखदेखि यस्ता विवरण संकलन सुरु गरेका छौँ । गाउँ भित्रिने व्यक्तिबारे जानकारी दिन स्वास्थ्य इन्चार्जलाई फोन खर्चको व्यवस्था गरेका हौँ,’ प्रमुख प्रशासकीय अधिकृत मगरले भने, ‘स्वास्थ्य चौकी इन्चार्जबाट आएका विवरणको आधारमा दैनिक एकीकृत विवरण तयार पार्ने गरेका छौँ । वडा-वडाका उपभोक्ता समूह, महिला समूह वा संघ-संस्थाका प्रतिनिधिलाई पनि गाउँमा आउने व्यक्तिबारे जानकारी दिन र निगरानी गर्न भनेका छौँ ।’ 


यस्तै, कोभिड-१९ को संक्रमण रोकथामका लागि हलेसी तुवाचुङ नगरपालिकाले बाहिरी जिल्लाबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ ।

 

कोरोना रोकथाम तथा नियन्त्रण नगस्तरीय समन्वय समितिका संयोजक एवं नगरप्रमुख इवन राईको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई स्वास्थ्य शिक्षा दिने र होम क्वारेन्टाइनमा बस्न लगाउने निर्णय गरेको हो । 

 

यसका लागि वडाध्यक्षको नेतृत्वमा सम्बन्धित वडाका सम्पूर्ण शिक्षकलाई परिचालन गरिनेछ । भारतलगायतबाट आउने व्यक्तिको तथ्यांक संकलनका लागि वडालाई स्टेसनरी उपलब्ध गराइएको नगरप्रमुख राईले जानकारी दिए ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि वडा-वडामा अन्यत्रबाट भित्रिएका व्यक्तिको तथ्यांक संकलन भइरहेको बताइएको छ । भारतबाट आएकाको हकमा भने एन्टिजेन परीक्षणको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले जानकारी दिए । 

 

जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले वंशिलाघाट र जन्तलुखामा हेल्थ डेस्क स्थापना गरेर पालिका भित्रिने र बाहिरिनेको विवरण संकलनको व्यवस्था मिलाइएको बताए । ‘नाका-नाकामा राखिएको हेल्थ डेस्कबाट कति आए, कति गए थाहा हुन्छ,’ पोखरेलले भने, ‘डेस्कबाट गाउँ प्रवेश गरेका सबैलाई १० दिन होम क्वारेन्टाइनमा बस्न भन्ने गरेका छौँ ।’ 

 

ऐँसेलुखर्क गाउँपालिकाले पनि महामारीका बीचमा बाहिरबाट आउने व्यक्तिको तथ्यांक राखेको छैन । यसपल्टको महामारीमा भारतबाट आउने व्यक्तिबारे जानकारी नआएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए । 

 

कोरोनाको महामारीका बीचमा पालिकाभन्दा बाहिरबाट गाउँ भित्रिने व्यक्ति होम क्वारेन्टाइनमा बसे÷नबसेको अनुगमन गर्ने र सोको जानकारी वडा तथा पालिकालाई उपलब्ध गराउने प्रयोजनका लागि केपिलासगढी गाउँपालिकाले स्वयंसेवक नियुक्त प्रक्रिया सुरु गरिसकेको छ । 


यद्यपि, हालसम्म बाहिरबाट आउने व्यक्तिको तथ्यांक संकलन गरिएको छैन । यस बीचमा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले आफ्नो पालिकामा अन्यत्रबाट कोही पनि नभित्रिएको बताए । केपिलासगढीले १६ वैशाखदेखि १० दिनका लागि यातायात बन्द गरेकाले कोही पनि नभित्रिएको दाबी गरिएको छ । 


जिल्लाको खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र रावाबेँसी गाउँपालिकाले पनि महामारीका बीचमा भारत तथा अन्य देशबाट भित्रिएका व्यक्तिको रेकर्ड राखेको छैन । 

 

रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले आफ्नो पालिकामा भारतबाट कोही पनि नआएको बताए । रावाबेँसीमा विदेशबाट आएका २ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । 

 

अक्सिजन सिलिन्डर जुटाउन समस्या 

 

खोटाङका स्थानीय तहलाई आइसोलेसन सेन्टरका लागि आवश्यक अक्सिजन सिलिन्डर जुटाउन समस्या भएको छ । आइसोलेसन सेन्टरका लागि बेड, डसना, सिरकजस्ता सामग्री जुटाउन सकिए पनि अक्सिजन सिलिन्डर भनेका बेला खरिद गर्न नपाइएको जनप्रतिनिधि बताउँछन् ।


जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको १३ वैशाखमा बसेको बैठकले नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

 

१६ बेडको आइसोलेसन सेन्टर निर्माणको तयारी गरिए पनि अक्सिजन नपाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । 

 

साकेला गाउँपालिकाले पनि अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर निर्माण गर्दै छ । साकेला गाउँपालिका वडा नम्बर २ रतन्छास्थित स्वास्थ्य चौकीमा स्थापना गरिएको ५ शय्याको अस्थायी कोभिड अस्पतालमा १५ बेड थप गरेर आइसोलेसन सेन्टर स्थापनाको तयारी गरिए पनि अक्सिजन सिलिन्डर नपाइएको प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 

 

‘हामीसँग अस्थायी कोभिड अस्पतालमा ५ बेडको आइसोलेसन तयारी अवस्थामा छ । अब १५ बेड थप गर्छौं,’ मगरले भने ।