close

दिक्तेल सहकारी खानेपानी आयोजना : म्याद गुज्रिए पनि निर्माण अधुरै

दिक्तेल सहकारी खानेपानी आयोजना : म्याद गुज्रिए पनि निर्माण अधुरै

Trulli
ADVERTISEMENT

खोटाङ- सम्झौता म्याद गुज्रिँदासमेत खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम ८७ प्रतिशत मात्र पूरा भएको छ । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यसहित १४ चैत २०७५ देखि सुरु गरिएको योजनाको काम हालसम्म ८७.३९ प्रतिशत पूरा भएको कन्सल्टेन्ट इन्जिनियर रामविक्रम दाहालले बताए ।

 

आशीष निर्माण सेवा प्रालिले ठेक्का लिएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको दुईपल्ट म्याद थप भइसके पनि काम सम्पन्न हुन सकेको छैन । 

 

आयोजनाको दोस्रो पल्ट थप भएको म्याद पनि आगामी ११ असारमा सकिँदै छ । ११ असोज २०७७ सम्म पूरा गर्ने गरी १३ चैत २०७५ मा सम्झौता गरेको निर्माण कम्पनीले सम्झौता म्यादभित्र आयोजनाको काम सम्पन्न गरेन । त्यसपछि ११ फागुन २०७७ सम्म पहिलो र ११ असार २०७८ सम्म दोस्रो म्याद थप गरिएको थियो ।

 

आगामी जेठसम्म आयोजनाको काम सम्पन्न हुने रम्वा खोला-माझ खोला सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष धनकुमार जोशीले दाबी गरे ।

 

बढ्दो सहरीकरणका कारण दिक्तेल बजारमा खानेपानीको अभाव हल गर्न सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ रुपैयाँ लागतमा पूरा गर्ने गरी आयोजनाको काम थालिएको हो । 

 

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेल, वडा नम्बर २ सोल्मा र वडा नम्बर ३ बाम्राङका १ हजार ४९ घर स्थानीयलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आयोजनाको काम सुरु गरिएको हो ।

 

हाल आयोजनाका लागि निगाले र अल्छेढुंगामा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र), दिक्तेल क्याम्पसभन्दा माथि थामखोरेडाँडामा १५० घनमिटर, दिक्तेल बजारको बेसक्याम्पमा १७५ घनमिटर र हाटडाँडामा ५० हजार घनमिटरको पानी संकलन गर्ने ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

ट्यांकी फिनिसिङको काम मात्र बाँकी रहेको कन्सल्टेन्ट इन्जिनियर दाहालले बताए । यसबाहेक १८ किलोमिटर प्रसारण पाइप लाइनको काम पनि सकिन लागेको जनाइएको छ । रम्बा खोला र माझखोलाबाट ल्याइएको पानी थामखोरेडाँडामा निर्माण गरिने १५० घरमिटर र बेसक्याम्पमा निर्माण गरिने १७५ घरमिटरको ट्यांकीमार्फत टोलमा पानी वितरण गर्ने तयारी छ ।

 

यस्तै, काउले मुहानको पानीलाई अल्छेढुंगामा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा प्रशोधन गरेर हाटडाँडामा निर्माण गरिने ५० हजार घनमिटरको ट्यांकीमा जम्मा गरेर वितरण गर्ने तयारी गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।


आयोजनाका लागि सरकारको १५ करोड ७८ लाख ९१ हजार २१५, नगर विकास कोषको ५ करोड ६३ लाख ८९ हजार ७१९ र उपभोक्ता समितिको १ करोड १२ लाख ७७ हजार ९४३ रुपैयाँ खर्च हुनेछ । नगर विकास कोषको २५ प्रतिशत रकम भने उपभोक्ता समितिले ऋण लिएको हो । 


आयोजनाअन्तर्गत समितिको कार्यालय भवन, १० वटा फायर हाइड्रेन्ट (अग्नि नियन्त्रण प्वाइन्ट), एउटा पानी परीक्षण प्रयोगशालालगायत संचना निर्माण गरिनेछ ।

 

जनसंख्या वृद्धिका कारण २ दशकपछि दिक्तेलमा पानीको समस्या निम्तिने खतरालाई दृष्टिगत गर्दै दिक्तेल बजारमा लामो समयदेखि उपयोग हुँदै आएको रम्बा खोला र माझ खोलाकै ट्रान्समिसन प्रणालीलाई उपयोग गरेर पानी वितरण गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो । 

 

आयोजनाबाट दैनिक प्रतिव्यक्ती ७५ लिटर पानी उपलव्ध गराउने लक्ष्य राखिएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाले जनाएको छ ।