close

आठराई त्रिवेणी गाउँपालिकामा ‘एक वडा एक प्राविधिक’ अभियान 

आठराई त्रिवेणी गाउँपालिकामा ‘एक वडा एक प्राविधिक’ अभियान 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - जैविक मल र उन्नत बिउलाई समृद्धिको आधार बनाउने घोषणा गरेको ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिकीकरण गर्ने योजना अगाडि सारेको छ । 


चालू आर्थिक वर्षका लागि ‘जैविक मल र उन्नत बिउको उपहार, समृद्ध आठराई त्रिवेणीको आधार’ नारा तय गरेको गाउँपालिकाले कृषि क्षेत्रलाई बेरोजगारीको अन्त्य र पूर्ण व्यावसायिक केन्द्र बनाउने गरी अभियान चलाउन लागेको हो । 


त्यसका लागि गाउँपालिकाले एक वडा, एक कृषि प्राविधिकको व्यवस्था गर्ने भएको छ । कृषि प्राविधिकले किसानका घर–घर पुगी प्राविधिक सल्लाह दिनेछन् । तिनै कृषि प्राविधिकमार्फत उन्नत बिउबिजनको समान वितरण तथा सही सदुपयोगको अवस्थाबारे नियमित अनुगमन गर्ने योजना गाउँपालिकाले बनाएको छ ।


गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला जैविक मललाई प्राथमिकता र उन्नत बीउबिजनको प्रयोगबारे खटिएका कृषि प्राविधिकबाट किसानलाई परामर्श दिइने बताउँछन् । गाउँपालिकाले हावापानी सुहाउँदो बालीको पहिचान गरी उन्नत जातका फलफूल बिरुवा वितरण गर्ने, कृषि क्षेत्रमा अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रममार्फत युवाहरूलाई कृषि पेसाप्रति आकर्षित गर्ने र यसलाई पूर्ण व्यावसायिक बनाउने नीति लिइएको छ । 


उत्पादित सामग्रीको बजार पहिचान गर्न गाउँपालिकाले कृषकहरूसँग साझेदारी गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्रका खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिन माटो अनुकूलको खेती प्रणालीका लागि अध्ययन गर्ने भएको छ । वडा–वडामा खटिएका कृषि प्राविधिकमार्फत माटो परीक्षण तथा सो माटोमा हुने खेतीबालीको सिफारिस गर्ने प्रबन्ध गरिनेछ ।


प्राविधिकले किसानसँगको नियमित सम्पर्कमा मौसमी पात्रो तयार गर्ने वातावरण मिलाउने नीति गाउँपालिकाको छ । रासायनिक मललाई गाउँबाटै विस्थापन गर्न कम्पोस्ट र गड्यौली मल उत्पादनमा कृषकहरूलाई प्रोत्साहित गरिने भएको छ । त्यसका लागि उन्नत जातका गाईभैंसी र बाख्रा खरिदमा किसानलाई गाउँपालिकाले सहयोग गर्नेछ ।


गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले मासु र अन्डामा समेत आत्मनिर्भर हुने गरी पशुपक्षीपालनलाई गाउँपालिकाले प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिइन् । 


‘कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणका लागि परम्परागत रुपले चल्दै आएका साप्ताहिक, पाक्षिक र मासिक हाटबजारलाई थप व्यवस्थित तथा पुनः सञ्चालनको व्यवस्था गर्दै छौं’, उनले भनिन् । 


यसबाहेक माटो सुहाउँदो मौसमी-बेमौसमी तरकारी तथा फलफूल खेतीमा कृषकहरूलाई आकर्षित गर्ने गरी योजना बन्दै गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय इङ्नाले बताए ।