close

बेनी नगरपालिकामा बुधबार रातीदेखि निषेधाज्ञा 

बेनी नगरपालिकामा बुधबार रातीदेखि निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

म्याग्दी- दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा बुधबार रातीदेखि निषेधाज्ञा आदेश जारी भएको छ ।

 

बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा सुरक्षा समितिले २२ वैशाख राती १२ बजेदेखि ३१ वैशाख राती १२ बजेसम्म लागि निषेधाज्ञा लागू गरेको हो । 

 

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा १० दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र संघ- संस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञाको सिफारिस गरेका थिए । 

 

म्याग्दीमा हाल १०२ जना सक्रिय संक्रमित छन् । २३ जना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । १९ वैशाखमा संकलन गरिएको ४२ वटा स्वाबको नमुना परीक्षण गर्दा मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने सिंगा तातोपानी बजार पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । सदरमुकाम बेनीका साथै ग्राीमण क्षेत्रमा पनि कोरोना संक्रमण फैलिएको छ । 

 

निषेधाज्ञामा औषधोपचार, कृषि कार्य, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाउने छैनन् । 

 

अस्पताल, औषधालय, औषधी एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुल्नेछन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । 

 

विवाह, व्रतबन्ध, पूजाआजा लगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक विकास निर्माणको काममा संलग्न मजदुरको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीले निश्चित गरेको ठाउँमा बस्ने गरी निर्वाध रूपमा सञ्चालन गरिने भएको छ । 

 

निषेधाज्ञा जारी भएको स्थानका सरकारी र सार्वजनिक कार्यालय एवं बैंकमा अनावश्यक भीडभाड हुन नदिने, अत्यावश्यकबाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपालो पद्धतिअनुसार न्यूनतम कर्मचारी खटाई कार्यालय सञ्चालन हुने प्रशासनले जनाएको छ । 

 

म्याग्दीमा पर्ने कालीगण्डकी करिडोर र अन्तरजिल्ला आउजाउ गर्ने सवारी साधनलाई निषेधाज्ञा लागू भएको क्षेत्रमा यात्रु झार्न र नचढाउने सर्तमा चल्न दिनेछ । म्याग्दीका अन्य स्थानीय तहले स्वास्थ्य संकटग्रस्त क्षेत्रमा स्थानीय तहको सिफारिस गरेअनुसार गर्न सुरक्षा समितिलाई सिफारिस गरेका छन् ।

 

बेनी नगरपालिकाका प्रत्येक वडा समितिले निषेधाज्ञाको निर्णय कार्यान्वयन गर्न गराउन स्वयंसेवकको रूपमा परिचालन हुने जनाएका छन् ।