close

नवलपुरमा निषेधाज्ञा: सवारी पास नदिइने, बैंक तथा वित्तीय संस्था दैनिक २ घन्टा मात्रै खुल्ने

२२ वैशाखदेखि ४ जेठसम्म निषेधाज्ञा

नवलपुरमा निषेधाज्ञा: सवारी पास नदिइने, बैंक तथा वित्तीय संस्था दैनिक २ घन्टा मात्रै खुल्ने

२२ वैशाखदेखि ४ जेठसम्म निषेधाज्ञा

Trulli
ADVERTISEMENT

नवलपरासी- पूर्वी नवलपरासीमा बुधबारबाट निषेधाज्ञा लगाइएको छ । नवलपुरमा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबारबाट निषेधाज्ञा जारी गरेको हो ।

 

२२ वैशाखदेखि ४ जेठसम्म निषेधाज्ञा जारी गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । पहिलो दिन पानीसमेत परेकाले सडक र बजारका साथै गाउँघर पनि सुनसान देखिएका छन् । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारवाही गरिने पंगेनीको भनाइ छ ।

 

निषेधाज्ञामा सवारी पास नदिइने 


नवलपुर प्रशासनले निषेधाज्ञाको समय सवारी पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी आन्तरिक र बाह्य जिल्ला कहीँ-कतै कुनै पनि प्रकारको सवारी पास नदिइने जनाएको छ ।

 

निषेधाज्ञामा प्रेस, एम्बुलेन्स, शव वाहन, तरकारी, दुग्धजन्य अत्यावश्यक सवारीसाधन भने सुरक्षा मापदण्ड पालना गरेर चलाउन सकिने प्रशासनले यसअघि जारी गरेको सूचनामा उल्लेख छ ।

 

मालपोत कार्यालय बन्द 


नवलपुर जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि निषेधाज्ञा जारी गरेपछि कावासोतीमा रहेको मालपोत कार्यालय बन्द भएको छ । कावासोती मालपोतले बुधबार विज्ञप्ति जारी गरी कार्यालय बन्द रहने जानकारी दिएको थियो । 


४ जेठसम्म मालपोत कार्यालय कावासोती बन्द हुने सूचनामा जानकारी गराइएको छ । 


सक्रिय संक्रमित ४६५ पुगे

 

पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण बुधबार १ जनाको मृत्यु भएको छ ।  चितवनको चितवन मेडिकल कलेजमा उपचाररत गैडाकोट वडा नम्बर ११ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

गैडाकोट नगरप्रमुख छत्रराज पौडेलले उनको बुधबार बिहान ६ बजेतिर चितवन मेडिकल कलेजमा निधन भएको जानकारी दिए ।

 

१९ वैशाखमा स्वाब संकलन गरी २० वैशाखमा पोजेटिभ रिपोर्ट आएका उनको २ दिनमै मृत्यु भएको हो । योसहित नवलपुरमा मृतकको संख्या ५ र सक्रिय संक्रमितको संख्या ४६५ पुगेको छ ।

 

बैंक तथा वित्तीय संस्थालाई दैनिक २ घन्टा मात्रै 

 

नवलपुरमा निषेधाज्ञाको समय बैंक तथा वित्तीय संस्था दैनिक २ घन्टा मात्र सञ्चालन हुने भएका छन् ।


मंगलबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बैंकर्स क्लब कावासोतीका पदाधिकारीसँगको बैठकमा हरेक दिन १० देखि १२ बजेसम्म न्यून कर्मचारी प्रयोग गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सञ्चालन गर्ने सहमति भएको हो ।