close

तौलिहवामा २२ शय्याको अस्थायी कोरोना अस्पताल

तौलिहवामा २२ शय्याको अस्थायी कोरोना अस्पताल

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुमा २२ शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि कपिलवस्तु अस्पतालले कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

 

महिला तथा बालबालिका कार्यालयलाई अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए ।

 

अस्पतालका २ शय्यामा प्रोटेबल भेन्टिलेटर जडान गरिएको छ । बाँकी २० बेडमा अक्सिजन सेवा दिने गरी प्लान्ट जडान भएको कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले जानकारी दिए ।

 

कोरोना अस्पतालमा स्वास्थ्यकर्मीको व्यवस्थापनसमेत कपिलवस्तु अस्पतालले गर्नेछ । संक्रमितको उपचारका लागि चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

 

अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । थप रकमसमेत उपलब्ध गराउने आश्वासन प्राप्त भएको अस्पतालका क्लिनिकल को-अर्डिनेटर गणेश क्षेत्रीले बताए ।

 

कोरोना अस्पताल नजिकै रहेको नेपाल पत्रकार महासंघको कपिलवस्तु शाखाको भवन पनि संक्रमितको उपचारमा प्रयोग हुने भएको छ । भवनको सभाहलमा ५ शय्याको अक्सिजनसहितका बेड राखिएको नेपाल पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान वज्राचार्यले जानकारी दिए ।

 

यी बेडमा कोरोना संक्रमित पत्रकारलाई उपचारको प्राथमिकता दिइनेछ । सर्वसाधारणको उपचारका लागि पनि प्रयोग गरिनेछ ।