close

चिसो मौसममा कोभिड बिरामीको त्रिपालमुनि बास 

चिसो मौसममा कोभिड बिरामीको त्रिपालमुनि बास 

Trulli
ADVERTISEMENT

मानदत्त रावल- जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ घोडेंगा गाउँका नेकपा (विप्लव) नेता चन्द्रवीर तिरुवा कोभिड संक्रमित बिरामी हुन् । उनलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको ८/९ दिनजति भयो ।

 

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनलाई ज्वरो आउने, खोकी लाग्ने जीउ दुख्नेजस्ता संक्रमणका लक्षण देखिएका छन् ।

 

वैशाखको तेस्रो सातादेखि जुम्लामा नियमितजसो पानी परिरहेको छ । नियमित वर्षाले चिसो बढी रहेको छ । विगत वर्षमा वैशाखमा गर्मी हुने गर्थ्याे । तर, नियमित वर्षाले चिसो मौसममा कोरोना संक्रमितको त्रिपालमुनि बास भइरहेको छ ।

 

होम आइसोलेसनका नाममा त्रिपालमुनिको बास भएको हो । यहाँ थोरै कोठा र साना कोठा भएका घर छन् । होम आइसोलेसन बनाउन मिल्ने घर छैनन् । घरभित्र बस्दा अरू सदस्यलाई संक्रमण सर्ने डरले घर नजिकै जंगलको छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् ।


कोरोना संक्रमत चन्द्रवीर भन्छन्, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा लक्षणसहितको कोरोना संक्रमण देखिएकाले अस्पतालकै आइसोलेनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हँुदा पनि वातावरण भएन । अहिले अस्पताल र चिकित्सकको कैयौँ दूरी टाढा जंगलको छेउमा त्रिपालमुनि मेरो बास भइरहेको छ । अहिले भगवान् भरोसामा बाँचेको छु ।’

 

मास्कबिनै त्रिपालमुनि बस्नुपरेको उनको गुनासो छ । प्रयोग गरेर फाल्ने सर्जिकल मास्क पुनः धोएर लगाउनुपरेको उनले बताए । ‘राज्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अर्बौं बजेट खर्च गरेको छ तर जनताले मास्कसमेत पाएका छैनन्’, उनले भने । 

 

जुम्लामा अहिले कोरोना संक्रमितको संख्या ६६ जना पुगेको छ । यसमध्ये सिंजा गाउँपालिकाभित्रका ३ जनामा संक्रमण देखिएको हो । सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर रोकायाका अनुसार लक्षणसहितका कोभिडका बिरामीलाई अस्पतालको फिबर वेडमा राख्नुपर्ने हो । ‘तर, घरमै पठाउने कुरा भयो’, उनले भने, ‘घरमा कोभिडका बिरामीलाई बस्ने सहज वातावरण हुँदैन । स्थानीय स्तरमा सामान्य स्वास्थ्य परामर्श दिनबाहेक अरू विकल्प छैन ।’

 

स्थानीय स्तरका स्वास्थ्यकर्मी पनि जोखिममा छन् । दोस्रो लहरको संक्रमण फैलिएपछि स्वास्थ्य सामग्री अभाव रहेको उनले बताए । रोकायाले भने, ‘संघ, प्रदेश र स्थानीय सरकार कुनैबाट पनि मास्क, स्यानिटाइजर, पिपिईजस्ता स्वास्थ्य सामग्री उपलब्ध भएका छैनन् । स्वास्थ्यकर्मी आफैंले किनेर स्वास्थ्य सामग्री प्रयोग गरिरहेका छन् ।’

 

लक्षणसहित कोरोना संक्रमण भएका बिरामीलाई अस्पतालकै आइसोलेसनमा राख्नुपर्नेमा त्यसो नभएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल बताउँछन् । उनले भने, ‘यस्ता बिरामी नराखेर जिल्लाबाहिर चिकित्सक पठाउने र जिल्लाबाहिरका बिरामी ल्याएर उपचार गरिन लागेको छ ।’


पहिला जिल्लाभित्रकै बिरामीले प्राथमिकता पाउनुपर्नेमा त्यसो नभएको उनको बुझाइ छ । अक्सिजन सिलिन्डर खरिद प्रक्रियामा रहेको उनले जानकारी दिए ।

 

कोरोना संक्रमतिको स्वास्थ्यमा समस्या आए तुरुन्त उद्धार गरी सुविधायुक्त अस्पतालमा पुर्‍याउने तयारीमा जुटेको उनले बताए । ‘स्थानीय तहमै अस्थायी कोभिड अस्पताल पनि बनाएका छौँ’, उनले भने, ‘अक्सिजन र चिकित्सक नभएकाले समस्यामा परेका छौँ । पटक-पटक विज्ञापन गर्दा पनि चिकित्सक पाउन सकेनौँ ।’

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार राज्यको प्रोटोकलअनुसार अक्सिजन, भेन्टिलेर अवश्यक पर्ने कोभिड बिरामीलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था छ ।

 

उनले भने, ‘अन्य सामान्य कोभिड बिरामीलाई स्थानीय स्तरकै आइसोलेसनमा राख्नुपर्ने व्यवस्था रहेको छ । देशभर कोरोना संक्रमण चुलिँदै गएकाले यहाँका चिकित्सक अन्यत्र पठाउनुपरेको हो । बाहिरी जिल्लाका बिरामीको उपचार गर्नुपरेको हो ।’

 

राष्ट्रिय मानव अधिकार आयोग जुम्ला र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको संयुक्त टोलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अवस्थाका विषयमा स्थलगत अध्ययन गरेको छ ।

 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जिम्मेवार प्राप्त सरोकारवाला निकायसँग प्रत्यक्ष भेटघाट र अवस्था अवलोकलन गरी स्थलगत अनुगमन गरिएको हो । टोलीले सिंजामा त्रिपालमुनि बसेका कोभिड संक्रमितको स्थलगत अनुगमनसमेत गरेको छ ।


पत्रकार महासंघ शाखा जुम्लाका नेत्रबहादुर शाहीले कोरोना संक्रमण तथा नियन्त्रणमा राज्यको तयारी नपुगेको देखिएको बताए । ‘निम्न स्तरको तयारीले संक्रमण फैलिने अवस्था देखिन्छ । राज्यका जिम्मेवार निकाय र नागरिक दुवै सचेत, सजग हुन अवश्यक छ’, उनले भने । 


राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका अधिकृत किरण बरानका अनुुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी अझै पुगेको छैन । उनले भने, ‘सर्वसाधारणभन्दा पनि स्वास्थ्यकर्मी नै सुरक्षित छैनन् । स्वास्थ्य सामग्री प्राप्त छैनन् । यहाँका सरोकारवाला निकाय स्वास्थ्य सामग्री खरिद प्रक्रियामै छन् । यसले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा चुनौती देखिएको छ ।’