close

अभाव र चुनाैतीका बीच कोरोनाविरुद्धको लडाइँ लड्दै भक्तपुर

अभाव र चुनाैतीका बीच कोरोनाविरुद्धको लडाइँ लड्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना संक्रमितको संख्या बढेसँगै भक्तपुर अस्पतालमा अक्सिजन अभाव भएको छ । अस्पतालमा दैनिक २ सय सिलिन्डर आवश्यक भए पनि १ सय वटा सिलिन्डर मात्र आपूर्ति हुँदै आएको छ ।

 

अस्पतालका मेसु सुमित्रा गौतमका अनुसार १ सय सिलिन्डर बिरामीका लागि पालोमा राखिए पनि अक्सिजन आवश्यक रहेका संक्रमितको संख्या बढेसँगै सिलिन्डर अभाव देखिएको हो ।

 

‘पहिलो लहरको कोरानाको समय आएका बिरामीमा सामान्य लक्षण देखिन्थ्यो । त्यतिबेला अक्सिजनको खासै अभाव थिएन,’ उनले भनिन्, ‘दोस्रो चरणका कोरोना संक्रमितमा श्वासप्रश्वासमा देखिएको समस्यालाई दृष्टिगत गरी थप अक्सिजन सिलिन्डर आवश्यक छ ।’

 

अस्पतालमा अक्सिजन अभाव भएपछि सँगैको क्यान्सर अस्पतालबाट थप १० सिलिन्डर ल्याएर संक्रमितको उपचार गरिएको गौतमले बताइन् । संक्रमितको बढ्दो चाप र अक्सिजन सिलिन्डरको बढ्दो अभाव टार्न घरमा बिनाकाम अक्सिजन सिलिन्डर होल्ड नराखिदिन गौतमको आग्रह छ ।

 

हाल भक्तपुर अस्पतालमा ५६ जना संक्रमित उपचाररत रहेको गौतमले जानकारी दिइन् । भिन्न संघ-संस्थाहरूले अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि हालसम्म पूर्ति नगरेकाले अस्पतालमा अक्सिजन सिलिन्डर अभाव भएको उनको भनाइ छ ।

 

कोरोना कहरमा डाक्टरको राजीनामा


भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगर अस्पतालमा कार्यरत ३ जना चिकित्सकले राजीनामा दिएका छन् । कोरोनाको दोस्रो लहरको महामारी चलिरहेका बेला अस्पतालमा कार्यरत चिकित्सकले थप सेवा–सुविधा माग गर्दै राजीनामा दिएका हुन् । 


प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार पालिकाद्वारा सञ्चालित नगर अस्पतालका ३ जना डाक्टरले राजीनामा दिएका हुन् । डाक्टरहरूलाई कोरोना महामारीको समय राजीनामा नदिन र नागरिकको स्वास्थ्य अवस्थाप्रति जिम्मेवार हुन भनिए पनि बेवास्ता गरेको उनको बताए ।

 

नगर अस्पताल सञ्चालनका लागि डा. रञ्जीतकुमार दास, सुलभ केसी र जिवेश बास्तोलालाई करारमा नियुक्त गरिएको थियो । उनीहरूलाई सरकारले तोकेको पारिश्रमिक दिइए पनि नगरपालिकासँग थप सेवा-सुविधा माग गर्दै आएका थिए । सहमति नजुटेपछि राजीनामा दिएका हुन् ।

 

चाँगुनाराण नगरपालिका अस्पतालका कार्यरत मेसु डा. दासले आत्मसम्मान नहुँदा राजीनामा दिनुपरेको बताए । करारको डाक्टर भएका कारण नगरपालिकाका कर्मचारीदेखि नगरप्रमुखसम्मले दबाब दिएपछि काम गर्ने वातावरण नहुँदा ३ जनाले राजीनामा दिनुपरेको दाबी गरे ।

 

कोरोनाका कारण राजीनामा नदिएकाले पुनः केही दिनमा अर्को कोभिड-१९ अस्पतालमै सेवा दिइने उनको भनाइ छ ।

 

खरिपाटीमा सञ्चालन हुँदै कोरोना अस्पताल

 

भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित विद्युत् प्राधिकरणको संरचनामा कोभिड अस्पताल सञ्चालन हुने भएको छ । कोरोना भाइरसको पहिलो लहरमा सो क्षेत्रमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । 

 

कोरोना संक्रमितको संख्या बढेपछि सरकारले प्राधिकरणलाई कोभिड विशेष अस्पताल सञ्चालन गर्न लागेको हो ।

 

बुधबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सरोकारवाला मन्त्रालयका सचिवसहितको बैठकले खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई आइसियु बेडसहितको कोभिड विशेष अस्पताल बनाई सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।


यसअघि चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि नेपाल फर्काइएका १७५ जना नेपालीलाई सरकारले खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको थियो । विद्युत् प्राधिकरणको ४ वटा भवन प्रयोग गरी बनाइएको क्वारेन्टाइनमा सिसिक्यामेरा, टेलिभिजन, स्पिकर, वाईफाई जडान गरिएको छ ।

 

खुला र पर्याप्त क्षेत्र रहेकाले पनि पछिल्लो समय बागमती प्रदेश सरकारले यसलाई भक्तपुर अस्पतालको व्यवस्थापनमा आइसोलेसन सेन्टरका रूपमा प्रयोग गरिसकेको छ ।

 

कोरोना भाइरसको दोस्रो लहरसँगै अस्पतालहरू संक्रमितबाट भरिन थालेपछि सरकारले यस पटक यसलाई कोभिड अस्पतालकै रूपमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन लागेको हो ।