close

बागलुङका ९ वटा पालिकाले बनाएका कोभिड अस्पतालमा बेड संख्या बढाइँदै 

ताराखोलामा १५ बेडको आइसोलेसन तयार

बागलुङका ९ वटा पालिकाले बनाएका कोभिड अस्पतालमा बेड संख्या बढाइँदै 

ताराखोलामा १५ बेडको आइसोलेसन तयार

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको ताराखोला गाउँपालिकाले संक्रमितको संख्या बढेपछि आइसोलेसन बेड बढाउन सुरु गरेको छ । सुरुमा ५ बेडबाट थालेको अभियान १५ बेडसम्म पुर्‍याइने भएको हो ।

 

साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्पतालको रूपमा चलेको थियो । उक्त स्थानको आइसोलेसन यथावत् राख्दै ताराखोला वडा नम्बर २ स्थित अर्गलमा पनि आइसोलेसन बनाउन थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । पालिकाले सबै वडामा रहेका स्वास्थ्य चौकीमा पनि अन्य उपचार नियमित गराउने योजना उनले सुनाए ।

 

हालै निर्माण भएको बहुउद्देश्यीय सभाहलमा कम्तीमा १५ जना बिरामी राख्न सक्ने बेड व्यवस्थापन गरिएको हो । एम्बुलेन्स चालक र अर्का १ जनामा संक्रमण देखिएपछि १ सातामै ताराखोलामा १० जना सक्रिय संक्रमित पुगिसकेका छन् । तीमध्ये केही अहिले होम आइसोलेसनमा छन् । १ जनालाई बागलुङस्थित धौलागिरि अस्पताल पुर्‍याइएको छ । 


गाउँपालिकामा १ डाक्टर र दुई नर्ससहित अन्य स्वास्थ्यकर्मीको दरबन्दी भएकाले तत्काल उपचारका लागि सम्भव हुने र सामान्य लक्षण भएकालाई गाउँमै उपचार गराउन पहल थालेको उनले जानकारी दिए ।

 

गाउँपालिकाले अक्सिजन सिलिन्डरसमेत खरिद गरेर ल्याएको छ । ‘जटिल समस्या भएका र निरन्तर ज्वरो आएका बिरामी भए बागलुङ पठाउने, नत्र गाउँमै उपचार गराउने योजना छ,’ उनले भने, ‘तत्कालका लागि ७ लाख रुपैयाँ रकमान्तर गरेर स्वास्थ्य सामग्री खरिद भइसकेको छ ।’

 

अन्य शीर्षकमा खर्च नभएको बजेट यता खर्चने योजना रहेको उनले सुनाए । भारतबाट आउनेको निगरानी भइरहे पनि संक्रमण बढिरहेको स्वास्थ्यकर्मी नितु खड्काले बताइन् । खड्काले सामाजिक सञ्जालमार्फत कोभिडका बिरामीको उपचारका लागि घर र अस्पतालमा खटिने जानकारी दिइन् ।

 

कोभिड अस्पतालका लागि चाहिने स्वास्थ्य सामग्री खरिद गरेर पालिकामा पुर्‍याइसकिएको छ । सामान्य लक्षण देखिएका बिरामीलाई गाउँमै उपचार गरेर निको बनाउने लक्ष्य पालिकाको छ । ताराखोलामा संक्रमितमध्ये चितवन र तराईका जिल्लाबाट फर्केकाहरू बढी छन् । उनीहरूबाट समुदायमा पनि संक्रमण फैलिएको भेटिएको हो । 

 

कोभिड अस्पताल सञ्चालन तयारी

 

बागलुङका अन्य पालिकामा पनि स्थापना भएर प्रयोगमा नआएका कोभिड अस्पताल धमाधम सञ्चालनमा ल्याउने क्रम सुरु भएको छ । बागलुङका १० पालिकामध्ये ९ वटाले कोभिड अस्पताल स्थापना गरेका थिए ।  बागलुङ नगरपालिकाले भने रातमाटामा आइसोलेसन व्यवस्थापन गराएको नगरप्रमुख जनकराज पौडेलले बताए । 

 

अधिकांश पालिका तहमा स्थानीय स्वास्थ्य चौकीको पूर्वाधार प्रयोग भएका छन् । ती स्वास्थ्य चौकीमा नियमित उपचारबाहेक बिरामीको व्यवस्थापन गरिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अमरबहादुर श्रीषले बताए ।

 

‘अहिलेसम्म सक्रिय संक्रमित थिएनन् त्यसैले तयारी थिएन । अब गाउँ-गाउँमा आएका मानिसको परीक्षण गर्दा संक्रमित भेटिन्छन्,’ श्रीषले भने, ‘लक्षण र जटिल अवस्था आए अन्य अस्पताल पठाउने, सामान्य भए यही उपचार गर्ने लक्ष्य छ ।’ 

 

गलकोट नगरपालिकाले कोभिड अस्पतालबाहेक नरेठाँटी स्वास्थ्य चौकीमा पनि झन्डै २० जनासम्म संक्रमित राख्न सक्ने आइसोलेसन बनाएको वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।


गत वर्ष विद्यालयहरू क्वारेन्टाइन र आइसोलेसन बनाएका पालिकाले यो वर्ष भने त्यस्तो तयारी गरेका छैनन् । ‘अहिले लक्षण नदेखिएका संक्रमितलाई घरमै बस्न लगाइएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भने, ‘खानपान, स्याहार र आत्मबलका लागि पनि घरमा बसेकाहरूको राम्रो अवस्था देखियो ।’ जटिल समस्या देखिए मात्रै अस्पताल आउन उनले आग्रह गरे ।