close

कोरोनाविरुद्ध लड्दै खोटाङका स्थानीय तह: कतै पिसिआर रिपोर्ट अनिवार्य, कतै हेल्थ टिप्स

कोरोनाविरुद्ध लड्दै खोटाङका स्थानीय तह: कतै पिसिआर रिपोर्ट अनिवार्य, कतै हेल्थ टिप्स

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि खोटाङका स्थानीय तहहरूले आ-आफ्नै किसिमका तयारी गरिरहेका छन् । हरेक स्थानीय तहको काँधमा महामारीका रूपमा फैलिरहेको कोभिड-१९ संक्रमणबाट जनधन बचाउ गर्नुपर्ने दायित्व छ । 

 

अधिकांश स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गर्ने, अन्यत्रबाट आएका व्यक्तिमाथि निगरानी गर्ने, बाहिरबाट भित्रिएका स्थानीयलाई होम आइसोलेसनमा राख्ने, सचेतनामूलक सन्देश प्रवाह गर्नेलगायत तयारी गरिरहेका छन् । 

 

दिप्रुङ: पिसिआर रिपोर्ट पेस गरेर मात्र गाउँपालिका प्रवेश अनुमति 

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोभिड-१९ को महामारीका बेला पालिका प्रवेश गर्ने व्यक्तिका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष एवं कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भुपेन्द्र राईको संयोजकत्वमा बुधबार बसेको बैठकले कोभिड-१९ महामारी अवधिमा पालिका वा जिल्ला बाहिरबाट आउने जोसुकैलाई अनिवार्य ७२ घन्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरेपछि मात्र पालिका प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको हो ।

 

पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरेर पालिकाभित्र प्रवेश गर्ने व्यक्तिले थप १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

 

बैठकले दिप्रुङ चुइचुम्मा वडा नम्बर १ याम्खामा स्थापित अस्थायी कोभिड अस्पतालमा बनाइएको १२ बेडको आइसोलेसन सेन्टरमा १३ बेड थपेर अक्सिजनसहितको २५ बेडको आइसोलेसन सेन्टर बनाउने, कोरोना संक्रमणको लक्षण देखिएका नागरिकले अनिवार्य गाउँपालिकाको अस्थायी कोभिड अस्पताल याम्खामा गएर स्वाब संकलन गराउनुपर्ने निर्णय गरेको छ ।

 

यस्तै, गाउँपालिकाका सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा सक्रिय कोभिड वडा समन्वय समिति गठन गर्ने, कोभिड वडा समन्वय समितिले महिला स्वयंसेविकाको संयोजकत्वमा साविकका प्रत्येक वडामा कोभिड समन्वय उप-समिति गठन गर्ने निर्णय गरिएको छ । 

 

बैठकले जिल्लाभन्दा बाहिरका जिल्ला वा विदेशबाट आएका व्यक्तिको अभिलेखीकरण सम्बन्धित कोभिड वडा समन्वय समितिले गर्ने र हरेक दिनको तथ्यांक गाउँपालिकाका स्वास्थ्य शाखा संयोजकलाई उपलब्ध गराउनुपर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक अहमद मन्सुरीले जारी गरेको सूचनामा उल्लेख छ । 


बराहपोखरी: अत्यावश्यकबाहेकका सेवा स्थगित 

 

कोरोनाको दोस्रो लहरको महामारीलाई लक्षित गर्दै बराहपोखरी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । दिनानुदिन कोभिड-१९ को महामारी बढिरहेको अवस्थामा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा अर्को व्यवस्था नहुँदासम्म स्थगित गरेको हो ।

 

मन्त्रिपरिषद्को गत १३ वैशाखको निर्णय तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयलाई दृष्टिगत गरी बुधबार बसेको गाउँकार्यपालिका बैठकले गरेको निर्णय बिहीबारदेखि कार्यान्वयनमा ल्याइएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । 


भीडभाडका कार्यक्रममा प्रतिबन्ध 

 

बराहपोखरी गाउँपालिकाले भीडभाड भएर गरिने धार्मिक, सांस्कृतिक तथा राजनीतिक कार्यक्रम गर्न प्रतिबन्ध गरेको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाभित्र सभा, सम्मेलन, गोष्ठी, सेमिनार, उद्घाटन, चियापान, राजनीतिक दलका कार्यक्रम, मठमन्दिर, मस्जिद, गुम्बा, चर्च, विवाह, व्रतबन्धलगायत भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुँदासम्म प्रतिबन्ध गरिएको जनाइएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा गाउँपालिकाभित्रका होटल तथा पसल दैनिक बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ । 


ऐँसेलुखर्क: २५ वैशाखदेखि निषेधाज्ञा 

 

कोभिड-१९ महामारीलाई लक्षित गरी ऐँसेलुखर्क गाउँपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रयासस्वरूप आगामी २५ वैशाख बिहान ६ बजेदेखि लागू हुने गरी मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

 

लकडाउनकै शैलीमा यातायातका सवारी साधन ठप्प बनाउने, सवारी साधन वा पैदल यात्रामार्फत गाउँपालिका भित्रिन र बाहिरिन रोक लगाउने, गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संघ-संस्था तथा अन्य सामाजिक संघ-संस्थाको अति आवश्यकबाहेकका सम्पूर्ण कामकाज बन्द गर्ने गरी निषेधाज्ञा गर्ने तयारी गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

बैठकले गाउँपालिकाभन्दा बाहिरबाट विशेष परिस्थितिमा आएका व्यक्तिलाई अनिवार्य १४ दिन होम आइसोलेसनमा राख्ने, होम आइसोलेसनमा बसे÷नबसेको निगरानी सम्बन्धित वडाका स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयले गर्ने तथा होम आइसोलेसन उल्लंघन गरेको पाइए प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने निर्णय गरेको छ । 

 

यस्तै, कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि गाउँपालिकाको कोभिड-१९ कोष शीर्षकबाट भुक्तानी दिने, विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन-पाठन बन्द गर्ने र वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

 

यसबीचमा विद्यालयमा शिक्षक अनुपस्थित भए नियमानुसार गयल कट्टी गरी तलबभत्ता कट्टा गर्न गाउँपालिकासमक्ष सिफारिस गर्ने, गाउँपालिकाभित्र विवाह, व्रतबन्ध, पास्नीलगायत भेला भएर हुने सामाजिक, धार्मिक तथा अन्य कार्यक्रम सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए । 


साकेला: कोरोना संक्रमणबाट बच्न ‘हेल्थ टिप्स’ 

 

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि साकेला गाउँपालिकाले स्वास्थ्य सुरक्षासम्बन्धी ६ बुँदे ‘हेल्थ टिप्स’ जारी गरेको छ । गाउँपालिकाले महामारीका रूपमा फैलिरहेको कोभिड-१९ संक्रमणबाट बच्न पालिकाका सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकी, टोल सुधार समिति, आमा समूह, विभिन्न संघ-संस्था, महिला स्वास्थ्य स्वयंसेविका, फ्रन्टलाइनमा खटिने कर्मचारी एवं सबै पालिकाबासीलाई स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना अपनाउन आग्रह गरेको छ ।

 

गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको अपिलमा पसल, कार्यालयलगायत ठाउँमा जाँदा अनिवार्य मास्क प्रयोग गर्न, कम्तीमा एकआपसमा २ मिटर भौतिक दूरी कायम गर्न, आँखा, नाक, मुखमा अनावश्यक हात नलगाउन अपिल गरिएको छ ।

 

यस्तै, कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले मिचीमिची हात धुन, विदेश तथा काठमाडौं, विराटनगरलगायत जोखिम क्षेत्रबाट आएका व्यक्तिलाई अनुशासित तवरले कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बस्न र स्वास्थ्यमा कुनै समस्या आए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ ।