close

निषेधाज्ञाले छोएन किसानलाई: दैलेखमा मकै रोप्ने चटारो

निषेधाज्ञाले छोएन किसानलाई: दैलेखमा मकै रोप्ने चटारो

Trulli
ADVERTISEMENT

दैलेख- घडीमा बिहानको ७ बजेर ३० मिनेट गएको थियो । करिब २० मिनेटको उकालो बाटो । बिहानको शितल हावा । दैलेखमा जताततै मकै लगाउने सिजन सुरु भएको छ । किसानहरू आ-आफ्नो बारीमा मकै रोप्न व्यस्त भएका छन् ।


कोही मल छर्दै त कोही कोही गोरु जोत्दै गरेको दृश्य कम्ती मनमोहक लाग्छ । पानी झर्दा समयमै मकै लगाउन पायौँ भन्नेहरूको आवाजले खेतखलियान गुञ्जिन थालेका छन् ।  बारीमा चारैतिर मल छर्किएका ठाटीकाँध वडा नम्बर २ टोम्टाल्लाका दीपि थापा हातको छडी लिएर गोरु दुगुराउँछन् । 

 

निर्मल थापा हातमो चौँठो (स्टिलको ठूलो भाँडा) समाउँदै मकैका दाना गन्दै बारीमा हाल्न तयार भएको देखियो । अघिअघि गोरु, पछिपछि मकै छर्न भ्या-नभ्याई भएको उनी सुनाउँछन् । एउटा गरामा जोत्दा कम्तीमा ९० फन्सो लगाउनुपर्ने थापाले बताए ।

 

देशैभरि कोरोनाको दोस्रो लहर सुरु भए पनि गाउँघरमा मकै छर्न चटारो भएको थापाको भनाइ छ । यतिबेला दैलेखका सबै ठाउँमा निषेधाज्ञा छ । जिल्लाका ११ वटै स्थानीय तहका बजार सुनसान भएका बेला किसानलाई पानी झरेपछि मकै लगाउन चटारो छ । 

 

ठाटीकाँधमा पनि मकै लगाउने चटारो सुरु भएको छ । पहिले समयमै पानी नझर्दा बाली पछाउँथ्यो’, ठाटीकाँध वडा नम्बर २ की सावि थापा भन्छिन्, ‘अहिले समयमै पानी आउँदा मकै लगाउन पाइयो । पहिले कहिलेकाहीँ जेठमा पानी पथ्र्यो भने कहिले असारसम्म पनि पानी नआउदा मन साह्रै आतिन्थ्यो । आकाशलाई गाली गर्न मन लाउँथ्यो । समयमै पानी आउँदा गाईभैँसीका लागि वनजंगल पनि हरियो हुँदै छन् र उत्पादनमा पनि बढ्ने अपेक्षा छ ।’ 

 

धुलो माटोले वसन्त ऋतुमा पनि विभिन्न रुखबिरुवाका पातमा बसेको कालो धुलो पानीले पग्लिएको र खेतबारीमा पनि काम सुरु भएको स्थानीय ढवबहादुर थापा बताउँछन् । ‘महिनाैँदेखि पानी नपर्दा कालो बादल र तुँवालो लागेर नजिकका गाउँ हेर्न मुस्किल हुन्थ्यो । अहिले चारैतिर हरियाली डाँडाकाँडा भएको देख्न सकिन्छ भने खेतीमा पनि रमाउन पाएका छौँ’, थापा भन्छन् ।

 

समयमै वर्षा भएकाले किसानका लागि अनुकूल अवस्था रहेको कृषि विकास निर्देशनालयका कृषि निर्देशक तथा कृषि विज्ञ चित्रबहादुर रोकायाले जानकारी दिए । 


‘बर्खे सिजन मकै, घैया धान, लेकाली भेगमा लगाइने अदुवा र बेसार, बर्खे सिमीजस्ता बालीनालीलाई अनुकूल समय मिलेको छ,’ उनले भने, ‘यस्ता बाली समयमै रोप्न सकिए उत्पादन पनि राम्रो हुन्छ ।’ 


बर्खे फलफूलमा आँप, लिचीका लागि यो समय उचित रहेको उनले बताए । उनले भने, ‘कर्णालीका सबै ठाउँमा पानी परेकाले किसानका लागि उपयुक्त समय रहेको छ ।’