close

बागलुङमा मानव सेवा आश्रम भवन शिलान्यास

बागलुङमा मानव सेवा आश्रम भवन शिलान्यास

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङसहित धौलागिरिका खुला आकास, सडक र गुफामा बस्ने मानिसलाई एउटै छानामुनि ल्याउने गरी ४ वर्षअघि मानव सेवा आश्रम स्थापना भएको थियो ।

 

बागलुङमा एउटा संस्थाको जीर्ण घरलाई मर्मत गरेर राखिएको आश्रममा अहिले ४५ जना सडकबाट उठाइएका मानिस बस्छन् । अपांग, वृद्ध, रोगी र सहाराविहीन तिनलाई दानमुठी उठाएर खुवाउने गरिएको छ । 

 

आश्रमको घर बनाएर सुविधासम्पन्न र व्यवस्थित रूपमा राख्ने योजनाका लागि आश्रमका केन्द्र र जिल्लाका सञ्चालकले थालेको निरन्तर अभियानले सफलता पाउन थालेको छ । मानव सेवा आश्रमको आफ्नै भवन बनाउने काम सुरु भएको हो ।

 

बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले आश्रम भवन शिलान्यास गरे । बागलुङ नगरपालिका वडा नम्बर ४ को निरयघाटमा भवन शिलान्यास गरिएको हो ।

 

वन बनेपछि आश्रमको कार्यालय त्यही सार्ने योजना रहेको सञ्चालक सुमिरा लामाले सुनाइन् । पटक-पटकको आग्रह र सबैको चासोपछि निरयघाटको जमिन नगरपालिकाको अगुवाइमा उपलब्ध गराइएको हो ।

 

यहाँस्थित पञ्चगुठीको जमिनमध्ये ५ रोपनी जमिन आश्रमका लागि दिइएको हो । उक्त जग्गामा ३ तले भवन निर्माण गरिनेछ । 

 

आश्रममा पार्किङ, खेलमैदान, खेतीपातीका लागि करेसाबारीसमेतको व्यवस्थापन गरिने उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर खड्काले बताए । पहिलो चरणमा गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको उनले जानकारी दिए । 


चालू वर्षको बजेटबाट गण्डकी प्रदेश सरकारले ५० लाख दिएपछि उपभोक्ताका तर्पmबाट २० लाख लगानी गरेर ७० लाख रुपैयाँमा भवन निर्माण गर्ने योजना छ ।

 

समितिका अनुसार ७ करोड रुपैयाँ लागतमा निर्माण हुने भवन बनाउन ३ वर्ष लाग्ने बताइएको छ । ‘बजेट र स्रोत जुटाउन सके २ वर्षमा सक्ने भनेका छौँ’, खड्काले भने, ‘कोरोना संक्रमण हटेर समयले साथ दिए आगामी हिउँदमा महायज्ञ लगाएर रकम संकलन गरिनेछ ।’ 

 

२ साताअघि लमजुङमा गरिएको महायज्ञबाट ३ करोड रुपैयाँ संकलन भएर भवन निर्माणको बाटो खुलेको छ । उक्त अभियानका लागि आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लमजुङ पुगेका थिए ।

 

भवन शिलान्यास कार्यक्रममा आएका अधिकारीले नेपाललाई नै सडक मानवरहित बनाउने संकल्प पूरा गर्ने अभियानको थालनी भएको बताए । ‘प्रधानमन्त्री पनि यो संकल्पमा सहभागी हुनुभएको थियो । अब हामीले छिट्टै संकल्प पूरा गर्छौं’, अधिकारीले भने, ‘मानव जीववनको सर्वोत्तम काम भएकाले सबैको साथ र सहयोग पाइनेछ ।’
 

भवन शिलान्यास गर्दै नगरप्रमुख पौडेलले सडक मानवरहित बनाउने अभियानमा सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले बागलुङ नगरभित्र भवन बने पनि सम्पूर्ण धौलागिरी क्षेत्रकै सम्पत्ति भएकाले सबैबाट सहयोग जुटाउन सुझाए । 

 

उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर खड्काको अध्यक्षता, आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको सञ्चालन र वडा नम्बर ४ का वडाध्यक्ष ध्रुवबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष जीवन आचार्य र वडा नम्बर ९ का वडाध्यक्ष गणेश थापाले पनि मन्तव्य राखेका थिए ।