close

जितपुर चिनाउँदै झ्याउँ पोखरी

जितपुर चिनाउँदै झ्याउँ पोखरी

Trulli
ADVERTISEMENT

इलाम -  पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरीको सतह भरिएको छ । देउमाई नगरपालिका–८ जीतपुरमा अवस्थित पोखरीमा पानी सञ्चयको तह बढ्न थालेपछि स्थानीय खुसी छन् ।


कुनै बेला खेल मैदानमा परिणत भएको पोखरी अहिले पानीले भरिएको छ । पोखरीमा माछाका भुराहरू खेलिरहेका छन् । पोखरीको बीचमा प्राकृतिक रूपमै उठेको थुम्काको दृश्यले मनै फुरुंग बनाउँछ ।


कोरोना महामारीका बीचमा पनि फुर्सद निकालेर पोखरी विचरण गर्न आउने स्थानीयको संख्या बढ्दै गएको सो क्षेत्रका डिल्लीराम बराल सुनाउँछन्  । पोखरी घुम्न आउने स्थानीयले यो पोखरीलाई मन भुलाउने थलोको रुपमा  लिन थालेको झल्को लाग्ने सुनाउँछन्, पोखरी पुनर्निर्माण अभियन्ता रञ्जीत मोरोहाङ । 


पानी सुकेर खेल मैदानमा परिणत भएको पोखरीको नागरिकका तर्फबाट विसं ०५४÷५५ मा पुनर्निर्माण सुरु  गर्नेमध्येका एक सदस्य स्थानीय बुद्व राई अहिले पोखरीमा टन्न पानी देख्दा हर्षविभोर हुने बताउँछन् । भन्छन्, ‘म एकदमै खुसी छु । हामीले थालेको कामले पूर्णता पाएको महसुुस भएको छ । पोखरीले गाउँको शोभा बढाएको छ ।’


३१ रोपनी क्षेत्रफल ओगटेको पोखरीको ६ कुना छन् । स्थानीयले संरक्षण नगर्दा र फोहोर बढ्दै गएपछि पोखरी ७० वर्षअघिदेखि नै सुक्न थालेको गाउँले बूढापाका बताउँछन् । ४० वर्षयता भने  पोखरीमा पानी नहुँदा गाईवस्तु चरन स्थल र खेलमैदानमा परिणत भएको ९० वर्षीया गुणमाया बराल स्मरण गर्छिन् ।   

 

पुनर्निर्माणमा २२ लाख बढी खर्च


पोखरी पुनर्निर्माणमा पटक–पटक गरेर २२ लाख ५० हजार खर्च भइसकेको छ ।  २३ वर्षअघि संकल्प युवा समाजले पोखरीको बीचमा रहेको थुम्कीमा मन्दिर निर्माण थालेको थियो । मन्दिर निर्माण गर्दा तत्कालीन जिविसले जस्तापाता खर्च र गाविसले ५० हजार अनुदान सहयोग गरेको स्थानीय शिक्षक तथा तत्कालीन समाजका सदस्य गायत्री बराल स्मरण गर्छन् ।


पछिल्लो पटक पुनर्निर्माणका लागि स्थानीय ओम बराल नेतृत्वको संरक्षण समितिले सिमएन आयोजनाको २ लाख र सांसद विकास कोषको ५० हजार खर्चिएको छ । निर्माण समितिको पहलमा १ हजार ७ सय मिटर टाढाबाट पोखरीमा पानी ल्याइएको छ । पानी ल्याउन स्थानीय १ सय २० मनकारीले पाइप पुर्ने बाटो खनेका थिए । तर, यो खर्चको हिसाब लामो समय बिते पनि सार्वजनिक भएको छैन ।


२०७५ सालमा पुनर्निर्माणलाई संस्थागत गर्दै झ्याउँ पोखरी संरक्षण तथा पूर्वाधार निर्माण उपभोक्ता समिति बन्यो । समितिको मातहतमा पोखरी पुनर्निर्माणमा १९ लाख ५० हजार खर्च भएको छ ।
यसमा जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ विराटनगरले १० लाख, मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामले ५ लाख, डिभिजन वन कार्यालयले ३ लाख, देउमाई नगरपालिका–८ र ९ वडा कार्यालयले १ लाख ७५ हजारका दरले ३ लाख ५० हजार खर्च गरिएको उपभोक्ता समितिले जनाएको छ ।

 

पोखरीको दिगो व्यवस्थापन गर्ने  वडाको योजना

 

२३ वर्षअघि स्थानीय प्रमिला चापागाईं  नेतृत्वको संकल्प युवा समाजको अगुवाइमा थालिएको पुनर्निर्माणको काम अझै संस्थागत हुन सकेको छैन । पोखरी पुनर्निर्माण र संरक्षणको काम सुरु भए पनि समाजका सदस्यबीचको आपसी खिचातानीले चापागाईं टिक्न सकिनन् ।


समाजले बनाएको मन्दिर भग्नावशेषमा परिणत भएको छ । पोखरी संरक्षणको नाममा बनाइएको स्थानीय ओम बरालको संरक्षण समितिले साढे २ लाखको काम गरेपछि निस्कृयजस्तै छ । समिति निस्कृय भएपछि उपभोक्ता समिति बनाएर पछिल्लो पुनर्निर्माणको योजना पूरा गर्नु परेको वडाध्यक्ष चन्द्र मगरले जानकारी दिए ।


उनका अनुसार पोखरीलाई पर्यटकीय स्थल बनाउन वरिपरि तारबार, डुंगा सञ्चालन, त्यहाँ पुग्ने बाटो तथा सजावटको बाँकी काम गर्नुपर्नेछ ।

 

संरक्षण समितिले हड्पिए सामुदायिक सम्पत्ति 

 

पोखरी संरक्षणको नाममा बनाइएका विभिन्न समूहले सामुदायिक सम्पत्ति जोडेका छन् । तर, समूहले जोडेका सम्पत्ति सार्वजनिक भएकाले जनताका  काममा प्रयोग गरिने स्थानीय जंगपुलामी मगरको दाबी छ । समूहले पोखरीको आसपासको घाँसदाउरा बेचेर सम्पत्ति जोडेका हुन् ।

 

यसअघि पञ्चायत कालमा शिवलाल बरालको नेतृत्वमा कुलो खनेर पोखरीमा पानी राख्ने काम भए पनि लामो समय नटिकेको स्थानीय बताउँछन् । विसं ०४१/४२ तिर क्याप्टेन असलबहादुर मोरोहाङ लिम्बस्को प्रधानपञ्च कार्यकालमा पोखरी वरपर वृक्षारोपण गरेर संरक्षण गरिएको स्थानीयको भनाइ छ ।


‘पोखरी संरक्षणको नाममा बनाइएका संगठनले काम गर्न नसकेपछि वडाले दिगो संरक्षण समिति निर्माणको सोच बनाएको छ’, वडाध्यक्ष चन्द्र मगर दाबी गर्छन् ।