close

नमोबुद्धमा ४० बेडको आइसोलेसन तयार

नमोबुद्धमा ४० बेडको आइसोलेसन तयार

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ स्थित जनक बहुमुखी क्याम्पसमा ४० बेडको आइसोलेसन केन्द्र तयार भएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा मेथिनकोट अस्पतालसँगै रहेको क्याम्पस भवनमा आइसोलेसन केन्द्र स्थापना गरेका हुन् ।

 

उक्त आइसोलेसन केन्द्रमा हाल १ जना बिरामी राखिएको छ । नमोबुद्ध नगरपालिकाकी ६० वर्षीया कोरोना संक्रमित महिलालाई आइसोलेसनमा राखी उपचार गर्न थालिएको छ ।

 

मेथिनकोट अस्पतालमा उपचारको क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । बुधबार संक्रमण पुष्टि भएकी महिलाको अवस्था अहिले सुधारोन्मुख रहेको मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घा मगरले जानकारी दिए ।


नमोबुद्ध र रोशीबीच सोमबार संयुक्त आइसोलेसन स्थापनाको सहमति भएको थियो । सहमतिअनुसार आइसोलेसनका लागि आवश्यक सबै पूर्वाधार व्यवस्था गरी सञ्चालनमा ल्याइएको नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए । 

 

शुक्रबार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको टोलीले आइसोलेसन केन्द्रको अनुगमनसमेत गरेको छ । दुवै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

 

आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको छ भने चौबीसै घन्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था छ ।

 

आइसोलेसन केन्द्रमा नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले सुरक्षा दिनेछ । आइसोलेसनमा दुवै पालिकाबाट १–१ जना चिकित्सक आलोपालो हुने गरी खटिनेछन् भने कोभिड-१९ का बिरामीको संख्याको आधारमा दुवै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।