close

सिंजाका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बन्दै 

सिंजाका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बन्दै 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले आफूले पाएको सरकारी सुविधाको गाडी कोरोना संक्रमित बोक्न प्रयोग गर्ने भएका छन् । कोरोना संकटका बेला संक्रमित ओसारपसार गर्न आफू चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएका हुन् ।

 

उनले भने, ‘गाउँपालिकामा एउटा एम्बुलेन्स छ । एम्बुलेन्सले २ महिनादेखि संक्रमित बिरामी ओसारपसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्न एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ । संक्रमितको संख्या हेरेर गाउँपालिकाको गाडी पनि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने तयारीमा छौँ ।’

 

सिंजा गाउँपालिकाले ३ वटै गाडी तयारी अवस्थामा राखेको छ । ‘संकटका बेला हामीलाई गाडी चाहिँदैन । जनताको सेवा गर्न सके मात्र पुण्य कमाउन सकिन्छ’, अध्यक्ष रावलले भने, ‘यस्तो बेला जनताको सेवा गर्नु स्थानीय सरकारको कर्तव्य र जिम्मेवारी पनि हो ।’

 

गाउँपालिकाभित्रका संक्रमित ३ वटै गाडीले बोक्नेछन् । कोरोना जाँच गराउन आउजाउ गर्ने कामका लागि गाडी प्रयोग भइरहेका छन् । जुम्लामा हिमा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा गाडी किनिएका छन् । यहाँका स्थानीय तहमध्ये सिंजाले सबै गाडी कोरोना संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेको हो । 

 

१ साताअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एम्बुलेन्स भाडामा लिने निर्णय गरेको थियो । एम्बुलेन्स भाडामा लिन ३ दिनभित्र हरेक स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा १-१ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

३ दिनसम्म रकम जम्मा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमितले सम्बन्धित स्थानमा आउजाउका लागि स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको थियो । सोहीअनुसार सिंजाले कोरोना संक्रमितका लागि ३ वटा गाडी तयारी अवस्थामा राखेको हो । गाउँपालिकाको गाडीले निःशुल्क बिरामी ओसारपसार गर्नेछन् ।