close

काेराेना कहरका बीच माथिल्लो चमेलिया निर्माण धमाधम

काेराेना कहरका बीच माथिल्लो चमेलिया निर्माण धमाधम

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलामा निजी क्षेत्रबाट मार्मा गाउँपालिका वडा नम्बर २ घट्टगडमा निर्माणाधीन ४० मेगवाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोनाका कहरका बीच पनि निर्धारित समयसीमाभित्रै काम सक्ने गरी जलविद्युत आयोजना निर्माणले तीव्रता पाएको हो ।

 

विद्युत् आयोजनाको ड्याम, पावर हाउसलगायत संरचनाको काम भइरहेको छ । ‘कोरोनाका बेला पनि काम रोकिने अवस्था छैन’, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, ‘अहिले मजदुर सबै यही खटिएका छन् । भएकै मजदुरको प्रयोग गरिरहेका छौँ ।’

 

आयोजनाका लागि ठूला उपकरण पनि पु¥याइएको छ । आयोजनालाई समयमै सक्न लागिपरेको उनले बताए । ३० प्रतिशत हाराहारी आयोजनाको काम सकिएको उनले जानकारी दिए ।

 

आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माणको काम चलिरहेको छ । चमेलिया नदी फर्काउने, बालुवा थिग्राउने पोखरीको काम अहिले चालू छ । पाइप जडानका लागि काम भइरहेको छ । नहर खन्ने काम पनि अघि बढेको छ । 

 

‘आयोजनामा सबै संरचना निर्माणको काम धमाधम हुँदै छ’, उपाध्याय भन्छन्, ‘अहिलेको अवस्थामा कोरोनाले धेरै असर पुर्याउन सकेन भने समयमै काम सक्छाैँ ।’

 

४० मेगावाटको आयोजना भए पनि यसमा सुरुङको प्रयोग गरिने छैन । चमेलिया नदीको पानी विद्युत्गृहमा खसाल्न ३.३ मिटर व्यास भएको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिनेछ । जस्तापाता आयात गरेर आयोजना स्थलमै पाइप तयार गरेर जडान सुरु गरिएको छ । 

 

यसमा पनि मेकानिकल इन्जिनियर र मजदुर खटिएका छन् । मेकानिकल स्थलमा अहिले पाता जडानको काम तीव्र गतिमा भइरहेको उपाध्यायले बताए । 


विद्युत्गृहको संरचना निर्माणका लागि जग खनेर ढलान सुरु गर्ने तयारी छ । आयोजना निर्माणको ठेक्का चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लट्टीनाथ कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ ।

 

चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लट्टीनाथ कन्स्ट्रक्सनले विद्युत्गृहमा काम गरिरहेको छ । यो आयोजनाले २०७९ फागुनबाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ ।

 

निर्माण स्थलमा स्थानीयको अवरोध नहुँदा काम गर्न सहज भएको आयोजनाले जनाएको छ । ‘हामीले सबैको सहयोग पाएका छौँ’, अपी पावर कम्पनीका निर्देशक इन्द्रमणि त्रितालले भने, ‘सडकको पहुँच पुगेकाले पनि काम गर्न सहज भएको छ । अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्यअघि नै सम्पन्न हुनेमा हामी ढुक्क छाैँ ।’

 

आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युत्गृहदेखि सबस्टेसनसम्मको दूरी १६ किलोमिटर छ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनको ५७ वटा टावर कम्पनीले नै निर्माण गर्दै छ । 

 

टावर निर्माणका लागि उपकरण ढुवानी भइरहेको आयोजनाले जनाएको छ । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ ।  आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

 

हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल-बंगलादेश बैंक र सेन्चुरी कमर्सियले बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कुल लागतको ७० प्रतिशत हो । 

 

२ अर्ब २२ करोड रुपैयाँ (३० प्रतिशत) स्वपुँजी लगानी छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिउँद ६ महिना र बाँकी ७० प्रतिशत वर्षाको ६ महिनामा उत्पादन हुनेछ । कम्पनीले आयोजनाको विद्युत् बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

 

वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्यवृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

 

माथिल्लो चमेलिया अपि पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत् आयोजना हो । कम्पनीले यसअघि नै दार्चुलाको शैल्यशिखर देथलामा साढे ८ मेगावट क्षमताका नौगाड र अपर नौगाड साढे ८ मेगावाट क्षमताको विद्युत उत्पादन गरेको छ । २ वटा आयोजना निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।