close

एम्बुलेन्स व्यवस्थापन गर्न जुम्ली सांसदको १० लाख

एम्बुलेन्स व्यवस्थापन गर्न जुम्ली सांसदको १० लाख

Trulli
ADVERTISEMENT

मानदत्त रावल- जुम्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद गजेन्द्रबहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापन गर्न १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएका छन् ।

 

गत १८ वैशाखमा जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित बिरामी ओसारपसार गर्ने एम्बुलेन्स व्यवस्थापन गर्न यहाँका ८ वटै स्थानीय तहले १/१ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

तर, कुनै पनि स्थानीय तहले बजेट व्यवस्थापन नगरेपछि प्रशासनको संक्रमित व्यक्तिले स्थानीय तहमै सम्पर्क गर्न पत्र प्रेषित भएपछि सांसद महतले कोभिड एम्बुलेन्स व्यवस्थापन गर्न १० लाख रुपैयाँ दिने भएका हुन् । सांसद निर्वाचन क्षेत्र विकास कोषबाट सांसद महतले बजेट उपलब्ध गराउने भएका हुन् ।

 

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार सांसद महतले सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ बजेट तिलालाई उपलब्ध गराउने र पालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नेछ ।


उनले भने, ‘एम्बुलेन्स व्यवस्थापनका लागि स्थानीय तहले बजेट उपलब्ध नगराएसँगै जनप्रतिनिधिको ध्यानाकर्षण भएपछि सांसद महतले कोभिडका बिरामी बोक्ने प्रयोजनका लागि १० लाख रुपैयाँ व्यवस्थापन गर्नुभएको हो ।’ 

 

४० जनाको परीक्षणमा २ जना संक्रमित


जुम्लामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । यसअघि ६२ जना कोरोना संक्रमित थिए । २४ वैशाखमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आरटी पिसिआर ल्याबमा ४० जनाको स्याम्पल परीक्षण गरिएको हो ।

 

परीक्षण गरिएका मध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठान स्रोतले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्ति लक्षणसहितका हुन् । उनीहरूलाई अक्सिजनको आवश्यकता पर्नेछ ।