close

रूपन्देही कांग्रेसको कार्यालयमा अस्थायी कोभिड अस्पताल

रूपन्देही कांग्रेसको कार्यालयमा अस्थायी कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

रूपन्देही- नेपाली कांग्र्रेस जिल्ला समिति रूपन्देहीले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणका लागि दिने भएको छ ।

 

कोरोना महामारीको दोस्रो चरण समुदाय स्तरमै फैलिइरहेको र अस्पतालमा बिरामीका लागि बेड अभाव भएपछि आइसोलेसनका लागि कार्यालय उपलब्ध गराउन लागेको कांग्रेसले जनाएको छ । 


भैरहवास्थित भीम अस्पतालको पछाडि रहेको कांग्रेसको जिल्ला कार्यालयमा २ वटा हल, ११ वटा कोठासहितको २ तले कम्पाउन्डसहितको भवन छ ।

 

उक्त भवनमा आइसोलेसन निर्माणका लागि स्थानीय तह, प्रदेश, केन्द्र सरकार वा अन्य कुनै गैरनाफामुखी संस्थाले लिन चाहे तत्काल प्रयोग गर्न दिइने रूपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकले बताए ।

 

कोभिडका बिरामीलाई उपचारका लागि बेडको समस्या नहोस् भन्ने उद्देश्यले पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ ।


प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले पनि दियो आफ्नाे भवन


पूर्वस्वास्थ्यमन्त्री दीपक बोहराका बुबा स्व. प्रतिमान बोहरा र आमा स्व. नीमा बोहराको नाममा स्थापित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले आइसोलेसन सेन्टर सञ्चालनका लागि आफ्नो भवन उपलब्ध गराउने भएको छ । 

 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सीता नर्सरीमा रहेको २ तले १२ कोठे भवनमा अस्थायी आइसोलेसन सेन्टर सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

 

कोरोना महामारीले अस्पतालमा बिरामीको चाप बढ्नुका साथै बेड अभाव भएकाले शुक्रबार बसेको प्रतिष्ठानको कार्यसमिति बैठकले आइसोलेसन सेन्टरका लागि भवन उपलब्ध गराउने निर्णय भएको संस्थाकी अध्यक्ष विजया केसीले बताइन् ।


कोभिड-१९ को कारण शिक्षा मन्त्रालयको निर्णयअनुसार भौतिक रूपमा विद्यालयमा पठनपाठन बन्द रहेकाले संस्थाको भवनलाई अस्थायी आइसालेसन सेन्टर सञ्चालन गर्न दिने सहमति भएको उनको भनाइ छ । 

 

गत वर्ष पनि कोभिड-१९ संक्रमणका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर ११ चैत २०७६ देखि करिब ९ महिना भवन परिसरमा क्वारेन्टाइन, होल्डिङ सेन्टर, हातधुने ठाउँ र शौचालय निर्माण गरी नेपाली सेनाको समन्वयमा सञ्चालन गरिएको प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले बताए ।