close

३ महिनाको तलबभत्ता कोरोना कोषमा जम्मा गर्ने कटारी नगरप्रमुखको घोषणा

३ महिनाको तलबभत्ता कोरोना कोषमा जम्मा गर्ने कटारी नगरप्रमुखको घोषणा

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले ३ महिनाको तलबभत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । श्रेष्ठले नगरपालिकाबाट बैठक भत्ता, भ्रमणलगायत भत्ताबापत आउने ३ महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

 

कोरोना महामारीको समय नगरबासीको जिउधनको रक्षा गर्नु आफ्नो दायित्व भएकाले ३ महिना बराबरको तलबभत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताए । ‘मैले लिने सेवा-सुविधा नगरको कोरोना कोषमा जम्मा गर्नेछु,’ कोषको रकमले महामारीसँग जुध्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो घोषणा गरेको हुँ’, श्रेष्ठले भने ।

 

नगर प्रमुख श्रेष्ठले नगरपालिकामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयासहरू जारी रहेकाले यसमा नगरबासीको सहयोग आवश्यक पर्ने औँल्याए । 


नगरमा गत बुधबारदेखि १ साताका लागि निषेधाज्ञा भइरहेको छ । नगरपालिकाले वडा नम्बर ३ ताराघारीमा आइसोलेसन तयार गरिसकेको छ । त्यहाँ २५ बेडको आइसोलेसन तयार पारिएको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिइन् ।त्यसैगरी कटारी अस्पतालमा अक्सिजनसहितको ६ बेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको छ ।