close

काेराेना प्रभाव: भुम्लु गाउँपालिकामा एक साताका लागि सबै सेवा बन्द

काेराेना प्रभाव: भुम्लु गाउँपालिकामा एक साताका लागि सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

काभ्रे- कोरोना संक्रमणको प्रभावका कारण काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिकाले साताव्यापी सेवा बन्द गरेको छ । चौँरीदेउराली गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

 

भुम्लु गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो भने चौँरीदेउरालीले पालिकाभित्रका सबै वडामा कोरोना संक्रमित भेटिएकाले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई दृष्टिगत गरी कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको हो ।

 

भुम्लुले शनिबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत १ जना कर्मचारी तथा १ जना स्वास्थ्यकर्मीमा शुक्रबार गरिएको परीक्षणमा संक्रमण देखिएकाले निःसंक्रमण र कन्ट्याक्ट ट्रेसिङ गर्न १ जेठसम्म साताव्यापी कार्यालयबाट उपलब्ध गराउने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए ।

 

पालिकामा शनिबारसम्म १३ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । तीमध्ये १ जना अस्पतालको आइसोलेसनमा, १० जना घरमै र अर्का २ जनाको जिल्लाबाहिर होम आइसोलेसनमा उपचार भइरहेको छ ।

 

त्यस्तै, चौँरीदेउराली गाउँपालिकाले कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको अध्यक्ष दीननाथ गौतमले बताए । शनिबार बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले गाउँपालिकाभित्रका सबै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको उनले बताए ।

 

निषेधाज्ञा जारीसँगै अब गाउँपालिकाभित्र रहेका औषधी र भेटेरिनरीबाहेक सबैखाले पसल र होटलसहित बजार पूर्ण रूपमा बन्द गरिनेछ ।

 

खाद्यान्न पसलको हकमा प्रत्येक दिन दिउँसो ४ देखि ६ बजेसम्म सामाजिक दूरी कायम गरी, सुरक्षा मापदण्ड अपनाई सेवा प्रवाह गर्ने, जमघट हुने खालका सामाजिक कार्यलगायत सबै बन्द गर्ने, काठमाडौंलगायत बाहिरबाट आउने सबैले अनिवार्य होम आइसोलेसनमा बस्ने र स्वास्थ्य सेवा, सुरक्षा निकाय, सरकारी सवारी साधन र खाद्यान्न ढुवानीबाहेकका अन्य सवारी साधनलाई सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाले ३ स्थानमा अक्सिजनसहितको आइसोलेसन कक्ष तयार गरिसकेको छ । वडा नम्बर ५ मा रहेको धुसिने शिवालय प्राथमिक अस्पतालमा १० शय्या तयार गरेसँगै सो केन्द्रमा १ जनाको उपचार भइरहेको गाउँपालिकाले बताएको छ । 

 

बाँकी २ ठाउँ वडा नम्बर २ मा रहेको डिसिडब्लुसी सामुदायिक अस्पताल र वडा नम्बर ३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष तयार हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङले जानकारी दिए ।

 

जिल्लामा शनिबार मात्रै १३५ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म १ हजार ७४ सक्रिय संक्रमित रहेको र २४ उपचारपछि निको भई घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।