close

अक्सिजनको सिलिन्डर खोजीमा भक्तपुर प्रहरी

अक्सिजनको सिलिन्डर खोजीमा भक्तपुर प्रहरी

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर प्रहरीले अक्सिजन सिलिन्डर खोजी गर्दै कोरोना संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गर्दै आएको छ ।


हालसम्म महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तबाट संकलन गरिएका खाली तथा भरिएका ९५ थान अक्सिजन ग्यास सिलिन्डर वितरण गरिएको छ ।

 

भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार प्रहरीले उद्योग, कलकारखाना, कबाडी संकलन केन्द्रबाट संकलित २० थान भरिएकोसहित ९५ वटा अक्सिजन सिलिन्डर अस्पतालमा वितरण गरेको हो ।

 

अस्पतालमा भर्ना भई उपचाररत बिरामीले प्रयोग गरिरहेको अक्सिजन सकिएको र मौज्दात नभएको जानकारीका आधारमा प्रहरीले भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालि लोकन्थलीमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० थान खाली र ५ थान भरेका गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ थान भरेका सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर वितरण गरिएको प्रहरीले जनाएको छ ।

 

अस्पतालमा संक्रमित बिरामीको चाप बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै अस्पतालका चिकित्सकले अक्सिजन सिलिन्डर सहयोग गर्न अपिल गरिरहेका छन् ।

 

एसपी थापाले प्रहरीले जिल्लामा सञ्चालित स्वास्थ्य क्षेत्रबाहेक प्रयोग भइरहेका उद्योग, कलकारखाना तथा कबाडी संकलन केन्द्रसमेतमा रहेका सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गरेको र अन्य सिलिन्डर खोजी गरिरहेको बताइन् ।