close

पश्चिम नवलपरासीमा ३ जना पूर्वजनप्रतिनिधिको निधन 

पश्चिम नवलपरासीमा ३ जना पूर्वजनप्रतिनिधिको निधन 

Trulli
ADVERTISEMENT

नवलपरासी– पश्चिम नवलपरासीमा ३ जना पूर्वजनप्रतिनिधिको निधन भएको छ । तत्कालीन जिविसका पूर्वउपसभापति चिन्तामणि पोखरेल, जिविसकै पूर्वसदस्य शिवलाल कँडेल र पूर्ववडाध्यक्ष ताराप्रसाद श्रेष्ठको निधन भएको हो ।

 

पोखरेल राप्रपाबाट २ पटक जिविसमा निर्वाचित भएका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखामा पूर्वसभापति केशव पराजुलीका अनुसार उनको काठमाडौंमा ८९ वर्षको उमेरमा निधन भएको हो । पोखरेल रामग्राम वडा नम्बर ३ का हुन् ।

 

त्यस्तै, जिविसकै पूर्वसदस्य रहेका एमालेको माधव नेपाल, झलनाथ पक्षका जिल्लाध्यक्ष शिवलाल कँडेलको कोरोनाका कारण निधन भएको पराजुलीले बताए । 

 

‘हालका प्रदेशमन्त्री बैजनाथ चौधरी जिविस सभापति हुँदा कँडेल जिविस सदस्य हुनुहुन्थ्यो’, पराजुलीले भने, ‘दुखद् घटना भइरहेका छन् ।’ 

 

त्यस्तै, पूर्ववडाध्यक्ष ताराप्रसाद श्रेष्ठको निधन भएको छ । उनी साविक पञ्चनगर गाविसको वडा नम्बर २ का जननिर्वाचित थिए । प्रगतिशील साहित्यकारसमेत रहेका श्रेष्ठको ७८ वर्षको उमेरमा निधन भएको हो । 

 

उनलाई ३ दिनदेखि ज्वरो आएपछि घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतबार आफ्नै निवास बर्दघाट वडा नम्बर ९ भुताहामा निधन भएको छोरी सरस्वती श्रेष्ठले जानकारी दिइन् ।

 

‘कोभिड परीक्षण गरिएन’, छोरी सरस्वतीले भनिन्, ‘औषधिले बिसेक भइसकेको थियो । अकस्मात निधन भयो ।’

 

साविक पञ्चनगर हाल बर्दघाट नगरपालिकामा पर्दछ । बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले पूर्वजनप्रतिनिधि कँडेल र श्रेष्ठको निधनमा दुःख व्यक्त गरे ।

 

ग्रामीण परिवेशका जनजीविकाका सवालमा चोटिला साहित्य रचना गर्ने श्रेष्ठका २ दर्जन बढी कृति प्रकाशित छन् । गत वर्ष जीवनसंगिनी गुमाएका श्रेष्ठका २ छोरा र २ छोरी छन् । उनको त्रिवेणीधाममा अत्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।