close

सिमलचौरमा अब पानी नै पानी, भूमिगत जलले प्यास मेट्दै स्थानीय

सिमलचौरमा अब पानी नै पानी, भूमिगत जलले प्यास मेट्दै स्थानीय

Trulli
ADVERTISEMENT

लमजुङ– मस्र्याङ्दी गाउँपालिका–८ सिमलचौरफाँटमा भूमिगत जल सिंचाई आयोजनाको काम सकिएको छ ।


गाउँपालिकाले पहिलो नमुना योजनाको रुपमा उक्त भुमिगत जल सिंचाई आयोजना निर्माण गरेको हो ।  गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार नमुना योजनाको निर्माण सफल भएपछि जनप्रतिनिधि, स्थानीय उत्साहित भएका छन् ।  


जिल्लामै नयाँ प्रविधि प्रयोग गरी यसअघि आयोजनाको ड्रिलिङ गरिएको थियो । १ सय ३० मिटर को गहिराईबाट करिव ७ लिटर प्रति सेकेण्ड पानी निस्कन सक्ने परीक्षण समेत भएको छ ।


उक्त ठाउँको बाहिरी सतहमा कुनै पनि पानीको स्रोत छैन । खेतीपातीका लागि पानीको समस्या हुने ठाउँमा नयाँ प्रविधि भित्रर्याएर सिंचाई आयोजना सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए । बर्खाको समयमा धान रोप्नका लागि समेत आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले भूमिगत जल सिंचाई आयोजना निर्माण गरेको अध्यक्ष गुरुङले बताए ।


गाउँपालिकाका अनुसार आयोजनाका लागि २०७५/०७६ मा सम्भाव्यता अध्ययन गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख रुपैंयाँ बजेट विनियोजन गरी आयोजनाको काम गरिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।


ड्रिलिङ गरिएकै ठाउँमा ३० घनमिटरको ट्यांकी निर्माण गरिएको छ । योजना सम्पन्न भएकाले अब किसानले प्रशस्त पानीको पानीको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्न सक्नेछन् । खेतीका लागि किसानलाई आवश्यक पर्ने सीप, तालिमको व्यवस्था गाउँपालिकाले गर्ने जनाएको छ ।


सिंचाईको सुविधा नभएका कारण त्यस ठाउँका किसानलाई अन्नबाली, तरकारी, फलफूल खेतीका लागि समस्या थियो । बाह्रैमास सिंचाईको व्यवस्था भएमा किसानलाई सहज हुने र व्यवसायिक बनाउन सकिने भएकाले नयाँ प्रविधि प्रयोग गरी आयोजना सञ्चालन गरिएको हो ।


सिमलचौरफाँट भूमिगत जल सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष कमान गुरुङले आयोजना सकिएकाले अब किसानलाई सहज हुने बताए । सिंचाईको सुविधा नभएको ठाउँमा भुमिगत जल सिंचाई आयोजनाले किसानलाई ठूलो राहत पुग्ने उनको भनाइ छ ।